पुस्पलाल बि.सी. ।
भाद्र १९, सुर्खेत । वि.स १४ औं शताब्दीमा सिम्ता राज्यमा सिंगारु नाच सुरु भएको थियो । चार्डपर्व, मेला, दसैँ र तिहार, बिबाहलगायत ठाउँहरुमा यो नाच नाच्ने गरिन्छ ।

सल्यानको (कविता राज्यमा) डोल्पाको केही आधा भाग खस बस्तीमा, रोल्पाको खस बस्तीमा, प्युठानको (बाउन राज्यमा), दैलेखकको आधा भाग र जाजरकोटमासमेत यो नाच नाच्ने गरिन्छ । १ देखि ५ जनासम्म पुरुषले महिलाको कपडा लगाएर नाच्ने र १ जना मादल बजाउने, १ जना कुरकुटी (टेम्पो) बजाउने, १ जना मान्छेले मुरली बजाउने काम हुन्छ भने २/३ जनाले झ्याली बजाउने र २/३ जनाले सिंगारुको गीत गाउने गर्छन ।

नाच्ने मान्छेहरुले आफ्नो दुई हातमा रुमाल लिएर नाच्ने गर्छन् । २०३६ सालको श्री ५ वीरेन्द्रको सवारीमा विभिन्न जिल्लाका सिंगारु नाचहरु ल्याएर तत्कालिन मध्यपश्चिम विकास क्षेत्रको राजधानी सुर्खेतमा देखाईएकोमा सल्यान बनगाड दरा हालको कुपिन्डे बनगाड नगरपालिकामा पर्ने पन्च रोमश शाहले नेतृत्व गरेको सिंगारु नाच प्रथम भइ २०२९ सालमा १३ हजार पुरस्कार प्राप्त गनए सफल भएको थियो ।

हालसम्म समेत बिवाह, मेला, पुँजामा सिंगारु नाच मन पराउने दानी मान्छेहरुले पेसाको फूुल लगाई दिने चलन रहेको छ । दसैँ, तिहारमा गाउँका घरहरुमा सिंगारु नाँच ल्याएर आएमा टिका दछिना दान दिने चलन पनि रहेको छ । सिम्तामा सिंगारु नाचमा नाम कमाउनु भएका लाल बहादुर बि.सि सिम्ता गाउँपालिका वडा नम्वर ९ का नागरिक हुनुहुन्छ । उहाँले यस क्षेत्रमा राम्रो कला र सिप गरेका कारण बिभिन्न ठाउँहरुबाट सम्मानित हुन सफल हुनु भएको छ ।

त्यस्तै राम बहादुर हमाल सिम्ता गाउँपालिका वडा नम्वर ४ का नागरिकले समेत सिंगारु नाचको बिकासमा ठुलो भुमिका खेलेका छन् । यस सिंगारु नचको सुर्खेतको अन्य भुभागमा समेत प्रभाव परेको छ । विदेश गएकाहरुले आफ्नो सिंगारुलाई प्राथमिकता दिने र स्वदेश आएपछि पुरस्कार समेत दिने गरेको सिम्ताका पुराना साहित्यकार पृथ्वी बहादुर सिंहले जानकारी दिनु भयो । उहाँका अनुसार सिंगारु नाचको क्रममा युवायुवतीहरुमा माया प्रेम बस्ने र बैवाहिक सम्बन्ध समेत बाँधिने गरेको पाईन्छ ।

स्थानीय सरकारले समेत यस सिंगारु नाचलाई प्राथमिकतामा दिएर आफ्नो कार्यक्रमहरुमा यस सिंगारु नाचलाई प्रस्तुत गर्न लगाएर सम्मान र पुरस्कार दिने गरेको पाईन्छ । यो नाचलाई मिडियाहरुले समेत प्राथमिकतामा समेत राखेको पाईन्छ ।

यस नाचको वेला झैझगडा नहुने र समाजहरुमा मेलमिलाप र सद्भावहरुको विकास हुने गरिएको साहित्यकार सिंहले बताउनु भयो । यो नाचले आफ्नो मुल्य मान्यता र परम्पराहरुलाई यथावथ राख्न ठूलो भुमिका खेलेको पाइन्छ । सिंगारु नाचको मनोरञ्जनको माध्यमले सबै क्षेत्रहरुलाई जोड्ने काम गरेको छ ।

यो सिँगारु नाच लोप हुँदै गएको पुराना सिँगारु कलाकार लाल बहादुर बि.सी. बताउनुहुन्छ । यो नाच सिक्नमा युवायुवतीहरुको रुचि कम भएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । ‘संस्कार र संस्कृति जागोउने दायीत्व युवायुवतीको हो’उहाँल भन्नुभयो, ‘आफ्नै पहिचान र संस्कृतिको जगेर्नामा कसैको ध्यान गएको छैन ।’

सिँगार नृत्यको ऐतिहासिक रूपमा सिम्ताको जनजीवनसँग गहिरो सम्बन्ध छ । यो नाचले संस्कृति र परम्पराको महत्व झल्काउछ ।

सिँगारु विशेष गरी पुरुष महिलाको भेषमा नाच्ने पारंपरिक नृत्य हो जसमा नाच्नेलाई महिलाले लगाउने विशिष्ट पोशाक र गहना लगाइन्छ । नृत्यका चलन र तरिकाहरू क्षेत्रीय विविधता अनुसार फरक हुन सक्छन्, तर यसको मुख्य उद्देश्य मनोरञ्जन र सांस्कृतिक एकता हो ।

सिँगारुको इतिहास र विकासमा स्थानीय परम्परा, सामाजिक मान्यता, र धार्मिक विश्वासहरूको महत्वपूणर् भूमिका छ । यसले समुदायलाई आपसमा जोड्ने, सामाजिक र सांस्कृतिक मान्यतासँग सम्बन्धित कथा र चरित्रलाई प्रस्तुत गर्ने गर्दछ ।

यस नाचबाट सास्कृतिक धरोहरको संरक्षण, सामाजिक एकता, आर्थिक लाभ, सांस्कृतिक पहिचान शिक्षा र प्रशिक्षणमा विशेष टेवा पुग्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0