सुर्खेत। कर्णाली प्रदेशको घरेलु तथा साना उद्योग प्रवद्र्धन गर्न आज असार २० गतेदेखि २२ गतेसम्म वीरेन्द्रनगर सुर्खेतमा औद्योगिक प्रदर्शनी आयोजना गरिने भएको छ ।

“स्थानीय उत्पादन, रोजगारी र समृद्धिको आधार” भन्ने नारासहित आयोजना हुने प्रदर्शनीमा कर्णालीका १० वटै जिल्लाका उद्योग, सहकारी, प्राविधिक शिक्षालय, निजी क्षेत्र र स्थानीय उद्यमीहरूको सहभागिता रहने आयोजक उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।

औद्योगिक प्रदर्शनीको तयारीबारे बिहीबार आयोजक उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले पत्रकार सम्मेलन गरि कार्यक्रमबारे जानकारी दिएको हो ।

उद्योग तथा उपभोक्ता हित संरक्षण, अनुसन्धान तथा प्रशिक्षण केन्द्रको आयोजना र कर्णाली प्रदेश सरकारको सहकार्यमा हुने तीन दिने कार्यक्रममा स्थानीय उत्पादनको प्रदर्शनी, मौलिक सांस्कृतिक प्रस्तुती, अन्तरक्रिया कार्यक्रम, तालिम तथा उत्कृष्ट सहभागिहरूलाई पुरस्कार वितरण गरिनेछ ।

कार्यक्रमको पहिलो दिन बजार परिक्रमा, उद्घाटन तथा सांस्कृतिक कार्यक्रम, दोस्रो दिन प्रदर्शनी र छलफल, र अन्तिम दिन समापन तथा पुरस्कार वितरण गरिने निर्देशक देवीलाल सापकोटाले जानकारी दिनुभयो ।

प्रदर्शनीमा उत्कृष्ट स्टललाई ५० हजार, द्वतियलाई ३० हजार र तृतियालाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । सहभागी उद्यमीहरूलाई निःशुल्क स्टल, खाजा र यात्रा खर्चको सुविधा पनि उपलब्ध गराउने उहाले जानकारी दिनुभयो ।

प्रदर्शनीले कर्णालीका मौलिक सीप र संस्कृतिको संरक्षण र प्रचारका साथै शैक्षिक संस्था र उद्योगबीच सहकार्य विस्तार हुने अपेक्षा लिइएको निर्देशनालयका टोपेन्द्र विसीको भनाई छ ।

उहाका अनुसार बजारमुखी सोचको विकास र उद्यमशीलताको अभिवृद्धि, युवा तथा महिला उद्यमीको सशक्तीकरण र पहुँच विस्तार, स्थानीय उद्योग र उत्पादनमा राष्ट्रिय/अन्तर्राष्ट्रिय चासो बढाउने अवसर हुने दाबी छ ।

प्रदर्शनीमार्फत कर्णालीको उत्पादनशीलता र सम्भावनालाई उजागर गर्दै स्थानीय अर्थतन्त्रको मजबूती र रोजगारी सिर्जनामा टेवा पुग्ने आयोजकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0