सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्धको सुशासन अभियानमा अहिलेसम्मकै रेकर्ड कायम गरेको बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको संयोजनमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि सुरु भएको ‘कर्णालीका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुसँगको परामर्श बैठक’ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादी सङ्ख्याले सानो भए पनि यसको नेतृत्वमा बनेको सरकारले भ्रष्टाचार विरुद्ध र सुशासन अभियानमा रेकर्ड कायम गरेको जिकिर गर्नुभयो ।
यति ठूलो अभियान चलाएको देखेर विरोधी शक्तिहरुमा छटपटी पैदा भएको उहाँले बताउनुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले माओवादी सरकारबाट बाहिरिँदा जितेजस्तो र कांग्रेस–एमालेले हारेर नेतृत्व लिएजस्तो बनेको टिप्पणी गर्नुभयाे ।
सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिक क्षेत्रमा मिटरब्याजीको समस्या समाधान, हजारौँ नागरिकताविहीनलाई नागरिकता पाउने व्यवस्था मिलाउनुको साथै देशबाहिर तथा भित्र रहेका लाखौँ श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरी नयाँ आशाको जगाएको पनि उहाँले जनाउनुभयो ।
परामर्श बैठकमा उपाध्यक्ष अग्नि सापकोटा, महासचिव देव गुरुङ, उपमहासचिवत्रय जनार्दन शर्मा, शक्ति बस्नेत, वर्षमान पुन, नेता गिरिराजमणि पोखरेल, स्थायी कमिटी सदस्य टेकबहादुर बस्नेत, सत्य पहाडी, कालीबहादुर मल्ल, केन्द्रीय सदस्य महेन्द्रबहादुर शाही, नरेश भण्डारीलगायतको सहभागिता रहेको छ । बैठक शनिबारसम्म चल्नेछ ।


























