काठमाडौँ ३१ जेठ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले बाँकेको नेपालगञ्ज, रुपन्देहीको सिद्धार्थनगर, कैलालीको धनगढी र मोरङको विराटनगरमा तातो हावाको लहर (लू) प्रतिकार्य कार्यक्रमका गतिविधिहरू सञ्चालन गरिरहेको छ ।

कार्यक्रमअन्तर्गत समुदायका लूबाट बच्ने उपायका बारेमा सचेतना कार्यक्रम र सार्वजनिक स्थानमा खानेपानी वितरण गरिरहेको छ ।

गर्मी याममा असामान्य रूपमा अत्यधिक तापक्रम बढी तातो हावा चलेको अवस्थालाई तातो हावाको लहर वा ‘लू’ भनिन्छ ।

बढी गर्मीका कारण थकान र कमजोरी महसुस हुने, चक्कर लाग्ने, बेस्सरी टाउको दुख्ने, वाकवाकी लाग्ने, हातगोडा बाउँडिने, हातगोडा वा अनुहार सुन्निने र बेहोस हुने, मुटुको धड्कन बढ्न सक्ने जनाइएको छ ।

साथै छाला सुक्खा र रातो हुने, पिसाबको रङ पहँेलो हुने, श्वास फेर्न गाह्रो हुने र रक्तचाप कम हुने, एक सय चार डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आई बिरामी बेहोस हुने वा कोमाको लक्षण देखिन सक्छ ।

सीमान्तकृत समुदाय लक्षित गरी लू सम्बन्धी जनचेतनाका गतिविधिहरू सञ्चालन भइरहेको यहाँस्थित आइएफआरसीले जनाएको छ ।

‘हिट एक्सन डे’अर्थात् तातो हावा लू दिवस अवसरमा बुधबार आयोजित कार्यक्रममा आइएफआरसीका प्रमुख अजमद उल्लाले तातो हावा लूबाट प्रभावित नेपालको मधेस तराईका जिल्लामा नेपाल रेडक्रस सोसाइटी र आइएफआरसीका साझेदार राष्ट्रिय सोसाइटीहरूको सहकार्यमा प्रतिकार्य र न्यूनीकरणका गतिविधि सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

सो कार्यक्रममा अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसआइडी)का इन्भाइरोमेन्ट एण्ड रिजिलियन्स कार्यालयका कार्यवाहक उपनिर्देशक डेभिड आरम्यानले लूबाट जोगिने उपायका बारेमा समुदायलाई पूर्वसचेत जगाउन आवश्यक रहेकामा जोड दिँदै जलवायु परिवर्तनका कारण तापक्रम बढ्ने क्रम जारी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विश्वव्यापी समस्याका रुपमा रहेको तातो हावा लूको प्रतिकार्यका लागि सम्बन्धित सबै पक्षको सहकार्य र समन्वय आवश्यक छ ।” नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले हिट एक्सनका क्षेत्रमा सरकारको सहयोगीको रूपमा नेपाल रेडक्रसले स्थानीय निकायहरूसँग समन्वय गरी प्रतिकार्यका विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको बताउनुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले तातो हावाबाट पर्ने प्रभाव र लेखाजोखा अझ गम्भीर रूपमा हुनुपर्नेमा जोड दिँदै तातो हावासँग सम्बन्धित सूचना, शिक्षा र सञ्चार सामग्री विभिन्न स्थानीय भाषामा तयार गरी प्रकाशन, प्रसारण गर्नुपर्छ भन्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0