सुर्खेत, जेठ ३१ । वीरेन्द्रनगरमा जारी १९ वर्षमुनीको महिला राष्ट्रिय क्रिकेटको उपाधि भिडन्त मधेस र सुदूरपश्चिम प्रदेशबीच पक्का भएको छ । समूह चरणको अन्तिम खेलमा मधेसलाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिमले पुनः फाइनलमा मधेसलाई नै प्रतिष्पर्धीका रुपमा पाएको हो ।
आइतबार नै भएको समूह चरणको आप्mनो अन्तिम खेलमा कर्णालीलाई हराउँदैे फाइनल पुग्ने झिनो सम्भावना कायमै राखेको गण्डकी भने मधेसमाथि सुदूरपश्चिमले जित निकालेसँगै निराश हुन पुगेको छ । अघिल्ला ६ खेलमा अपराजित रहँदै आएको मधेस प्रतियोगिताकै पहिलो हार व्यहोर्ने क्रममा सुदूरपश्चिमविरुद्धको खेलमा स्तब्ध भएपनि उपाधि दाबेदारका रुपमा फाइनल पुगेको हो ।
कालुङचोक मैदानमा ११८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमका ओपनर सावित्री धामी र करुणा विष्टले ८ ओभरसम्म टिकेर ६८ रनको उत्कृष्ट साझेदारी गर्दै जितका लागि बलियो जग बसाले । २४ रनको व्यक्तिगत स्कोरमा सावित्री धामी सुष्मिताकुमारी यादवबाट बोल्ड भएको केहिबेरपछि नै करुणा रन आउट हुँदा मधेसतर्फ ढल्किएको खेललाई रश्मी सुनारले १५ र रविना धामीले १८ रन बटुल्दै आप्mनो पोल्टामा पारे ।
३० बलको सामना गरेकी करुणाले १७० को स्ट्राइक रेटमा ९ चौकासहित ५१ रनको आक्रामक पारी खेलिन । त्यसअघि पहिला ब्याटिङ गरेको मधेसका लागि सना प्रविन र प्रतिमा साहको समान २३–२३ रनको मद्दतमा ११७ को योगफल खडा ग¥यो । मधेसका लागि आरती महतो र शिवानी साहले समान १०–१० रन जोडे ।
आइतबारनै भएको अर्को खेलमा गण्डकीले घरेलु टोली कर्णालीमाथि ८ विकेटको फराकिलो जीत निकाल्यो । घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको कर्णालीले २० ओभरको खेलमा ४ विकेट गुमाउँदै जम्मा ९६ रन जोड्यो । कप्तान तिर्सना विश्वकर्मा १ रनले अर्धशतक बनाउनबाट चुकिन् ।
ओपनर सोविका शाही शून्यमै आउट भएपनि तिर्सनाले ६२ रनको सामना गर्दै एक छक्का र छ चौकाको मद्दतमा नटआउट ४९ रन बनाइन् । दोश्रो क्रमकी शिखा दुवाडीले १७ रन जोडिन् । बलिङतर्फ गण्डकीकी निरु जीटीले दुई विकेट झार्दा यशोदा भुजेल र जेनिशा शर्माको नाममा एक–एक विकेट रह्यो ।
९७ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकीका ओपनर श्रेया शाह तीन र ज्योत्सिनीका मरासिनीले १३ रनमा आउट भएपछि तेश्रो र चौथो क्रममा ब्याटरले नटआउट रहँदै गण्डकीको इनिङ्स सम्हाले । चन्द्रमाया बरालले ५ चौकासहित ३७ बलमा ३९ र दीपिका सापकोटाले पनि ५ चौकासहित २९ बलमा ३२ रन जोड्दै गण्डकीलाई सहज जित दिलाए ।
समूह चरणको अन्तिम खेलमा लुम्बिनीले कोशीलाई जम्मा ४८ रनको लक्ष्य दिएको थियो । १६ रन अतिरिक्त पाएको लुम्बिनीका कुनैपनि ब्याटरले दोहोरो अंक छुन सकेनन् भने ४ ब्याटर शून्यमै फर्किए ।
४८ रनको झिने लक्ष्य पछ्याएको कोशीका टीका शाहले ८, पूर्णिमा राजवंशी र प्रिन्सा राना मगरले समान १० दश रन बनाउँदा खुशीकुमारी राजवंशीले नटआउट ११ रन जोडिन् । कोशीको जीतमा ११ अतिरिक्त रह्यो ।



























