सुर्खेत ३१ जेठ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विपद् प्रतिकार्यका लागि प्रदेश सरकारले पहलकदमी लिने बताउनुभएको छ ।

कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आज वीरेन्द्रनगर सुर्खेतमा बसेको बैठकमा बोल्दै मुख्यमन्त्री कँडेलले मनसुन पूर्व विपद् प्रतिकार्य तयारीका लागि सबै विषयगत क्षेत्र तथा सरोकारवालालाई तयार रहन निर्देशन दिनुभयो ।

“कर्णाली भूगोलका हिसाबले जोखिम छ”, उहाँले भन्नुभयो, “हाम्रै बलबुतामा काम गर्नुपर्छ । विपद्मा हामी सबै एक ठाउँमा आउनुपर्दछ ।”

आपत परेपछि मात्र विपद् जोखिम प्रतिकार्यका बारेमा सोच्ने तर अरु बेला योजना बनाउनमै रमाउने संस्कारको अन्त्य हुनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कँडेलले विपद्मा बिगतका अभ्यासलाई सिकाइका रुपमा लिएर आइपर्ने समस्या र चुनौतीसँग जुध्ने क्षमता निर्माण गर्नुपर्ने बताउनुभयो । रु एक करोड बजेट छुट्याएर सामग्री बिनाको गोदाम बनाउने कार्यलाई निरुत्साहित गरी राहत वितरणको तरिकालाई आगामी दिनमा न्यायोचित बनाइने उहाँको भनाइ छ ।

विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले ‘कर्णाली प्रदेश विपद् पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१’ र ‘कर्णाली प्रदेशको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१’ स्वीकृत गरी कार्यान्वयन गराउने निर्णय गरेको छ ।

विपद् व्यवस्थापनमा कर्णाली प्रदेशमा क्रियाशील विभिन्न साझेदार संस्थाहरुलाई विषयगत समूहहरुसँग समन्वय गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहयोग पु-याउन अनुरोध गर्ने निर्णय गरिएको छ ।

विपद्का समयमा र विपद्पश्चात् विद्युत्, टेलिफोन, दमकल, खानेपानी, स्वास्थ्य उपचार, एम्बुलेन्स जस्ता अनिवार्य सेवाको सुनिश्चिता हुने गरी आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गर्नेलगायतका आठ बुँदे निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेश विपद् महाशाखाका प्रमुख कृष्णबहादुर रोकायले जानकारी दिनुभयो ।

प्रमुख रोकायले बैठकमा प्रदेश विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, मनसुन पूर्वको तयारी, विपद्सँग सम्बन्धित विषयगत समूहको सक्रियतालगायतका विषयमा प्रस्तुति गर्नुभएको थियो ।

बैठकमा नौ विषयगत क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुले विपद् तथा मनसुन पूर्वको तयारी र प्रतिकार्यका बारेमा जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0