सुर्खेत, १३ कात्तिक । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले प्रदेशका आठ जिल्लामा रहेका १९ वटा रुग्ण आयोजना शीघ्र सम्पन्न गर्न निर्माण व्यवसायी र मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ ।
मन्त्रालयमा शुक्रबार आयोजित रुग्ण आयोजना समीक्षा तथा समस्या समाधानसम्बन्धी छलफलमा उहाँले आयोजनाका समस्या पहिचान गरी समाधान गर्दै निर्माणकार्यलाई तीव्रता दिन निर्देशन दिनुभयो ।
निर्माण व्यवसायीका वास्तविक समस्या समाधान गर्न मन्त्रालय तयार रहे पनि सम्झौताअनुसार काम नगर्ने प्रवृत्ति स्वीकार्य नहुने उहाँले बताउनुभयो ।
आयोजनाअनुसार समस्या, समाधानको उपाय र सम्पन्न गर्ने समयसीमासहित स्पष्ट कार्ययोजना बनाउन मन्त्री रोकाले सचिव तथा कर्मचारीलाई निर्देशन दिनुभयो ।
प्रदेश सचिव अर्जुनकुमार बमले पटकपटक म्याद थप्दा पनि प्रगति नभएका आयोजनालाई कानुनबमोजिम अघि बढाइने बताउनुभयो । काम नगर्ने निर्माण व्यवसायी र जिम्मेवारी पूरा नगर्ने कार्यालय प्रमुखलाई छुट नदिइने उहाँको भनाइ थियो । मन्त्रालयका अनुसार १९ आयोजनामध्ये केहीको प्रगति शून्य छ भने केहीको न्यून मात्रामा भएको छ ।

























