हुम्ला, १ चैत । जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि खानेपानीको अभाव भएको छ ।

यस वर्ष हिमपात नहुँदा खानेपानीका मूल सुक्न थालेपछि खानेपनीको अभाव भएको हो । सिमकोट तल्लो गाउँका बासिन्दा करिब तीन घण्टा हिँडेर पिनारा मूलबाट पानी ल्याउन बाध्य भएका स्थानीय बताउँछन् ।

सिमकोट गाउँपालिका-४ बुराउँसेस्थित ठाँडाढुङ्गाको केउकेउ मूलबाट ल्याइएको पानी भण्डारण गर्ने ट्याङ्कीमा नभरिएपछि पानीको अभाव भएको स्थानीय नैनसिंह रावतले बताउनुभयो । नाम्खा गाउँपालिका-१ मा पर्ने ताङिन खोलाबाट बृहत् खानेपानी आयोजना सञ्चालनमा ल्याइए पनि उक्त ठाउँको बीचबीचमा बरफ जमेपछि पानीको सङ्कट देखा पर्न थालेको उहाँको भनाइ छ ।

पहिलेपहिले करिब १० फिटसम्म हिमपात भए पनि खानेपानीको अभाव नहुने बताउँदै रावतले यस वर्ष खडेरीले गर्दा जिल्लाभरिका अधिकांश मूल सुक्न थालेकाले खानेपानीको समस्या भएको उल्लेख गर्नुभयो ।

किसानलाई ओखर र स्याउका बिरुवा वितरण

कृषि विकास कार्यालय हुम्लाले जुम्लाको फार्मबाट तीन हजार ८७६ वटा ओखर तथा स्याउका बिरुवा खरिद गरी ५५० जना किसानलाई अनुदानमा बिरुवा वितरण गरेको छ ।

प्रतिबिरुवा रु २७५ का दरले किसानलाई अनुदानमा बिरुवा उपलब्ध गराइएको कृषि विकास कार्यालयका प्रमुख चुडामणि पन्तले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0