काठमाडौँ, १ चैत । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ क्लष्टरअनुसार निर्वाचित चार जनाको नाम निर्वाचन आयोगमा पेस गरेको छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड (तीन प्रतिशत मत) पार गरेको श्रम संस्कृति पार्टीले मधेसी महिला रुवीकुमारी ठाकुर, दलित महिला राधिका रम्तेल, खस आर्य महिला अम्बिकादेवी सङ्ग्रौला खड्का र आदिवासी जनजातितर्फ पूर्णप्रसाद लिम्बू निर्वाचित भएको सूची आयोगमा पेस गरेको पार्टीका उपाध्यक्ष लोकनाथ चुडालले जानकारी दिनुभयो ।
गत कात्तिक १६ गते आयोगमा दर्ता भएको दलले चार महिनामा २२ जिल्लामा सङ्गठन विस्तार गरी प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ चार जना निर्वाचित गर्न सफल भएको उहाँले बताउनुभयो ।
निर्वाचनमा थ्रेसहोल्ड पार गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिवादी), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज क्लष्टर मिल्ने गरी निर्वाचित उम्मेदवारको नाम पेस गरेका छन् । आयोगले गत फागुन २८ गते नै आजसम्म क्लष्टर मिलाएर पेस गर्न पत्रात्रार गरेको थियो ।





























