नारायणप्रसाद तिमिल्सेना ।
वि. सं. २०५९ सालमा १९ वर्षको विद्यार्थी जीवनमा नै मडारिएको बादल कविता सङ्ग्रहबाट साहित्यिक यात्रा आरम्भ गरेका कवि घनश्याम भण्डारी करिव २३ वर्षपछि २०८२ सालमा अर्को कविताकृति शाश्वत सत्य लिएर देखा परेका छन्।विद्यार्थी कालमा नै साहित्यप्रति तानिएका भण्डारीले२३ वर्षको लामो समयावधिमा फुटकर लेखनबाहेक साहित्यलाई आफ्नो लक्ष्य बनाएर अगाडि बढ्न त सकेनन्तरसाहित्यिक गतिविधिमा भने उनको लगाब निकै समर्पित र महत्त्वपूर्ण छ ।कर्णाली प्रदेशकोसाहित्य मात्र होइन नेपाली भाषा, लोकसाहित्य, संस्कृति, इतिहास, पुरातत्त्व, परम्परागत कला र गलाको संरक्षण, संरक्षाण, सम्बर्धन र शोधखोजमा उनले गरेको योगदान निकै प्रशंसनीय, सराहनीय र गर्व गर्नलायक छ।भण्डारीले आफू दुल्लु नगरपालिकाको नगरप्रमुख हुँदाका बखत कर्णाली क्षेत्रको भाषा, साहित्य, संस्कृति, इतिहास र पुरातात्त्विक सम्पदाको खोजअनुसन्धान, संरक्षण, सम्बर्धन, प्रचार प्रसारका लागि आधा दर्जनभन्दा बढी राष्ट्रियस्तरका कार्यक्रमको आयोजना गरी उल्लेख्य योगदान गरेको देखिन्छ।भौतिक विकास नभए पनि राष्ट्रलाई त्यति घाटा हुँदैन जति घाटा हाम्रा सांस्कृतिक, पुरातातविक र ऐतिहासिक सम्पदा लोप हुँदा हुन्छ भन्ने धारणा बोकेका भण्डारी कर्णाँली क्षेत्रको भाषिक, सांस्कृतिक, पुरातात्त्विक, ऐतिहासिक सम्पदाका साथै परम्परागत विधि, प्रविधि, कला जस्ता मूर्त र अमूर्त सम्पदा लोप हुन नदिन अन्तर्आत्मादेखि नै समर्पित व्यक्तित्त्वका रुपमा रहेका छन्।
वि. सं. २०५२ मा आरम्भ भएको अप्राकृतिक, असान्दर्भिक, असामयिक, अनुत्पादक, स्थार्थ, सत्ता र राज्य दोहनको अभिलाषाबाट प्रेरित कथिन जनआन्दोलनको संज्ञा दिइएको १० वर्से गृहयुद्धले सिर्जना गरेको अन्याय, अत्याचार, शोषण, दमन र प्रतिशोधको भावनाले अभिप्रेरित राजनीतिक अन्धकारको गर्तमा भासिएको नेपाली समाजले व्यहोर्नु परेको वाध्यता र विवशताबाट उद्बेलित आत्मबोधको अभिव्यक्तिका रुपमा आएको भण्डारीको कविता कृति हो मडारिएको बादल।परिवर्तनका नाममा भएको कथित् जनआन्दोलन र त्यसको अवैध गर्भबाट अस्वस्थ अवस्थामा जन्मेको गणतन्त्र नामको शासन व्यवस्थाले राज्यमा मौलाएको चरम भ्रष्टाचार, शोषण, दमन, उत्पीडत, प्रतिशोधको पराकाष्टाबाट उत्पन्न अभाव, अभियोग, वितृष्णा, निराशा, आत्मग्लानिका साथै अनुभव, सम्भावना, आशा, भरोसा र केही सकारात्मक सोच बोकेर आएको कविताकृति हो शाश्वत सत्य।
यस कविता कृतिमा समेटिएकाकविताको विषयवस्तुलाई विहंगावलोकन गर्दा अधिकांश कविताहरु प्राकृतिक सुन्दरता, सामाजिक वैभव, सांस्कृतिक मूल्यमान्यता, लोक जीवनशैली, ऐतिहासिक पृष्ठभूमि, पुरातात्विक सम्पदा र राजनीतिले जन्माएको अप्राकृतिक संस्कारप्रतिको वितृष्णा आदि समेटिएका पाइन्छन्।केही कविताहरु भने जीवन भोगाइले जन्माएका अनुउत्तरित प्रश्नका रुपमा अङ्कित भएका छन् । बालवयमा नै बाबुको ममताबाट रुटिएका र आमाको स्नेहको रापले सेकिँदै राजनीतिको साउने भङ्गालोमा अनायासै हामफाल्न पुगेका कवि भण्डारी साहित्यभन्दा पनि राजनीतिमा कुशल र सफल व्यक्तित्वका रुपमा देखा परेका छन् ।समीक्षात्मक दृष्टिकोणले नियाल्दा कवितामा उनलाई कवि रुपमा कम र राजनीतिक व्यक्तित्वका रुपमा बढी छछल्किए देखिन्छन्।यो कविता सङ्ग्रह उनको काव्यात्मक सौन्दर्यभन्दा राजनीतिक आरोहअवरोहबाट अनुभूत गरिएका भावहरुको आत्मदर्पण अभिव्यक्ति हो भन्दा हुन्छ।साहित्य र राजनीतिको समानान्तर यात्रामा हिडेका कवि भण्डारीले आफू दुवै क्षेत्रमा सफल हुन नसकेको हीनताबोध र आत्मग्लानिलाई भावनात्मक रुपमा यस कविता कृतिमा व्यक्त गरेका छन्।प्रदेश सरकारको मन्त्री जस्तो गरिमामय पदमा कार्यरत रहे पनि कर्णाली प्रदेशका जनताको दुःख, पीडा, कथा व्यथा र अभावका लागि आफू ओखती हुन नसकेको पश्चाताप गर्दै राज्यलेकर्णालीप्रतिगर्ने परम्परागत सौतेनी व्यवहारलाई टुलुटुलु नियाल्ने किनाराको साक्षी मात्र भएको आत्मानुभूति कवितामा पोख्न भ्याएका छन्।कवितामार्फत्कविले व्यक्त गरेका विचारहरु निःस्वार्थ राजनीतिप्रतिको उद्बोधन होर सत्यता र यथार्थता पनि यही हो।
जन्म र मृत्युलाई शाश्वत सत्यका रुपमा स्वीकारेका कविले पूर्वीय दर्शनको सत्यम् शिवं सुन्दरम्,आत्मा नै सत्य हो, जन्म र मृत्यु केवल प्रक्रिया मात्र हुन् भन्ने वास्तविकताको पहिचान गर्न चुकेको आभास हुन्छ । हुन त कविले देखेकोर लेखेको शाश्वत सत्यको सार सत्यम शिवं सुन्दरम् भन्दा पर अभाव र अभियोगमा पिल्सिएको जनजीवनकोअन्तिम सत्य जन्मिनु र मर्नुबाहेक अरु केही हुँनै सक्दैन।अहमको अस्तित्वसम्म स्वीकार गर्न नपाएको भूत, वर्तमान र अनिश्चित भविष्यभित्र लौकिक वा अलौकिक विरासत नदेखेको र नभेटेको एक्कासौँ शताब्दीको नेपाली समाजको असन्तुष्टि नै कविको विचारमा शाश्वत सत्यका रुपमा आएको देखिन्छ ।यसैलाईकविताले कवितामार्फत ओकल्ने जमर्को गरेका छन् ।
कर्णाली प्रदेशको भूगोलमा जन्मेका हुर्केका र मौलाएकासंस्कार, संस्कृति, सभ्यता, दिनचर्या, वाध्यता र विवशता र पर्यावरणीय सुन्दरताको घुम्टोभित्र वैधव्यको जीवन जिउन विवश समुदायको कथाको सङ्गालो हो शाश्वत सत्य।प्रचुर सम्भावनाभएर पनि राज्यकोहेपुवा प्रवृति र अर्घेलो व्यवहारका कारण आन्तरिक उपनिवेशको धरातलबाट माथि उठ्न नसकेकोकर्णालीको वस्तु यथार्थ भण्डरीका कवितामा झल्केको छ। राजनीतिक नजरले मात्र होइन भाषिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिकरुपमा आफ्नो भविष्य आफै बनाउन नपाएको कर्णालीका लागि आफू राज्य सञ्चालनको महत्वपूर्ण पदमा रहेर पनि दुर्गम र विकट भनी लगाएको कर्णालीकोपरम्परागत दर्ज्यानीबाट मुक्त गराउननसकेको असन्तुष्टिर दुखेसोको रापिलो आभा र लाभाको सङ्गम उनका कविताको ओज बन्न पुगेको छ।हरेक कालखण्डमा स्थार्थका ज्वालाले सेपिएको, राज्यको विभेदकारी सोचबाट हेपिएको, दुर्गम र विकटको संज्ञाबाट चेपिएको,राजनीतिकाविषालु नजरले डामिएको र लुटिएको कर्णालीकाल्पनिक कथाको कमजोर भूमिकाहीन पात्रझैनिरीह बन्न पुगेको छ ।
लामा र छोटा गरी चौतीस वटा कविता सङ्गृहित यस काव्यकृतिमा कर्णाली क्षेत्रको भौगोलिक, सामाजिक, सांस्कृतिक, प्राकृतिक, ऐतिहासिक, राजनीतिक, पुरातात्विक र भाषिक विषयवस्तुलाई साङ्गोपाङ्गो समेटिएको छ।कविताकृतिको पहिलो कविता बन्न सफल बदलिने छ भैरवी शीर्षकको कवितामा कविले पञ्चकोशीका प्रमुख पाँच पीठ (श्रीस्थान, नाभिस्थान, धुलेश्वर, पादुका र तल्लो डुङ्गेश्वर) लाई कविताको शीर्षस्थान नदिईसहायक पीठ भैरवीलाई दिनुलाई भैरवी क्षेत्रले कविको आत्मालाई बोलाएको, आस्था तथा जिम्मेवारीको आत्मबोध गराएको मान्न सकिन्छ।पञ्चकोशी पवित्रभूमिका गौरव गाथा आफ्नो कोखीमा सुरक्षा गर्ने भैरवी वास्तवमा पञ्चकोशी क्षेत्रको द्वारका रुपमा रहेको छ।यस कविताका माध्यमबाट कविले पञ्चकोशीको ऐतिहासिकता, प्राकृतिक सुन्दरता, सामाजिक संरचना, भौगेलिक अवस्थितिको चर्चागरेका छन् ।
असारको त्रिशुली शीर्षकको कवितामा प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि त्रिशुलीले कैयन् आशाका किरणहरुलाईबाढी र पैरोमा विलय गराएकोदुःख र पीडाको कथा उल्लेख छ। नेपालको हवाइ यात्रा सुरक्षित र भरपर्दो नभएकाले वाध्यता र विवशताले हवाइ यात्रा गर्नुपर्ने अवस्थाको चिरफार गरिएको कविता हो बादलु माथि ।बाल कविता शैलीमा लेखिएको यस कवितामा सरल र बोधगम्य भाषाको प्रयोग भएको छ।जीवन र प्रकृति बिच तादाम्यता भएनभने विभिन्न प्रकारका खतराको सामना गर्नु पर्दछ भन्ने कुराको जानकारी प्रदान गर्दै प्रकृतिमाथि मानवले गरेको अतिक्रमण यसले निम्त्याएको दुर्दशाको चर्चा गरिएको छ।मानवीय कुचक्रका कारण प्रकृति प्रदत्त अमूल्य सम्पदाको लोप हुँदैगएको कुरा वास्तविक यथार्थका रुपमा आएको छ । अभाव र पीडाले भरिएको मन न त सुनाखरीसँग फुल्न सक्छ न त जुनेलीमा रमाउन सक्छ । घामको राप र पीपलको छायाले पनि मनका घाउमा मलम लगाउन नसकेको छटपटाहट मन र सुनाखरीमा प्रकट भएको छ।लाटो बोल्न थाल्यो शीर्षककोकविता प्रतीकात्मक छ।मलमी गएर श्रद्धाञ्जली दिन हतार गर्नेहरु त्यही व्यक्ति बिरामी परेका बेला अस्पतालको शैय्यासम्म पुगेर स्वास्थ्यलाभको कामना गर्न कञ्जुस्याइँ गर्दछन्।बिरामीको घाउमा राहतरुपिमलम लगाउनुभन्दा श्रद्धाञ्जलीमार्फत सहानुभूति प्रकट गर्न बढी उद्धत देखिन्छन् भन्नेवास्तविकता यस कविताको आत्मा बनेर आएको छ ।कवितामा संवेदनाशून्य मानवीय प्रवृत्तिमाथि तीखो प्रहार गरिएको छ । वाध्यता र विवशताका कारण एउटा छोराले आमाप्रति जति जिम्मेवारी र सद्भाव प्रकट गर्नु पर्ने हो त्योपुरा गर्न नसकेको आत्मबोधर आत्मग्लानि माफ गर आमा शीर्षकको कवितामा प्रकट भएको छ। तिमी कर्ण हौँ शीर्षकको कविताले समयले असन्तुष्टि, असन्तुष्टिले युद्ध र युद्धले कर्णजस्ता पात्रको जन्म हुन्छ भन्ने आशा गरेका कविलेआफ्नो आशा बालुवाको पानी सरह भएकोमा चिन्ता व्यक्त गरेका छन्।देशमा भएका ठुला ठुला युद्धले सच्चा नेतृत्व दिन नसकेको र नेताको दानवी शैलीले प्रह्लादजस्ता युवाहरुले विदेशी भूमिमा रगत र पसिना बगाउनुकोपीडा पोखिएको छ ।
वाफीकोटको सम्झना, यो सालको रोपाइँ, लडाँइ जारी छ, उन्मुक्त आकाश, जनसङ्ख्या र विकास, सत्य प्रेम प्रकृतिको सिद्धान्त, अभावको पाठशाला, यात्रा चिहानसम्मको आदि यस कविता कृतिमा समाविष्ट केही विशेष कविता हुन् । यी कविताहरुमा राज्य प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रसम्म आइपुग्दा पनि शासन सञ्चालनको विधि, प्रक्रिया र पद्धति उही सिन्डिकेट प्रथाबाटै परिचालित हुँदा समाजले काँचुली फेर्न नसकेको वितृष्णा, छटपटाहट र आक्रोश कवितामा पोखिएकोपाइन्छ।कृतिको मूल शीर्षकका रुपमा आएको शाश्वत सत्य शीर्षक कविताले शीर्षकलाई प्रतिकात्मक बनाएको छ।यस कविताको मूल भावभनेको जीवन भोगाइका अनुभव र खारिएका अनुभूति नै हुन् ।यस कवितामा रोटो र भोटोको जोहो गर्न प्रदेसिनु पर्ने युवाहरुको दिनचर्या र घरमा काल पर्खेर छोराको आशामा दिन काटिरहेका वृद्ध आमाबाबुको आशाको किरण लाश बनेर फर्केको वास्तविक सत्यको उद्घाटन भएको छ।गाउँले जीवनको यस्तै दैनिकीको सेरोफेरोमा यस कृतिका अधिकांश कविता मौलाएका छन् र झाङ्गिएका छन् ।कविता सङ्ग्रमा सङ्कलित कविताहरुले विश्व समुदाय प्रविधिको विकासले संसार आफ्नो नियन्त्रणमा लिने होडबाजीमा लागिरहेका बेला कर्णाली क्षेत्रका नागरिकले एक गोली सिटामोलका लागि तड्पिनु पर्ने बाध्यता शाश्वत सत्यभित्रको सत्य हो, वास्तविक तथ्य हो र कृतिको समग्रता हो।कृतिमा समावेश भएका कविताको समग्रतामा विषयवस्तु, पात्र साहित्यिक उद्देश्य, कविको कवित्वशैली, भाव, भाषा आदिलाई नियाल्ने हो भने प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता, ऐतिहासिक धरोहर, पुरातात्विक सम्पदा, पुर्खाका पदचाँपहरुको गरिमा, बाटो बिराएको गन्तव्य, राज्य व्यवस्थाप्रतिको वितृष्णा, भविष्यप्रतिको अलिकति आशा र अभावबाट सिक्नुपर्ने ज्ञान जस्ता विषयवस्तुको दृष्टान्त सापेक्षित रुपमा सार्थकरहेको छ ।उनका कृतिबाटः
मसँग बजारमा बिक्री नभएको
मोफसलको एउटा जीन्दगी छ
जुन आफैमा प्यारो लाग्छ
अनि अर्को तिमी छौँ
जुन जीन्दगीभन्दा पनि बढी प्यारो लाग्छ
कसरी बुझाउँ मेरो वास्तविकता
प्रियतम म आफ्नै चप्पलमा अल्झिएर लडेको मान्छे हुँ।
अस्तुः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0