काठमाडौँ, १२ असार । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको अवैध ओसारपसार र सेवन अन्त्यका लागि विशेष योजना बनाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

‘लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का सन्दर्भमा आज गृह मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उहाँले लागुऔषधको ओसारपसार र आपूर्तिकर्तालाई कडाभन्दा कडा कारबाही गर्न निर्देशन दिनुभयो ।

सीमित साधन स्रोतबीच सुरक्षा निकायले सम्पादन गरेका कार्य प्रसंशनीय रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले सुरक्षा निकायका लागि पर्याप्त बजेट तथा जनशक्तिको व्यवस्था गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । गलत बाटोमा हिँडेर सही गन्तव्यमा पुग्न नसकिने बताउँदै उहाँले लागुऔषध दुव्र्यसनबाट बाहिर निस्केर समाज सुधारकको भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

लागुऔषध दुव्र्यसन नियन्त्रणमा सरकार, समुदाय र आम नागरिकको उत्तिकै भूमिका रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले दुव्र्यसनीमा फसेकालाई सुध्रन मौका दिइने तथा बिक्री वितरणमा संलग्नलाई कडाकारबाही हुने स्पष्ट पार्नुभयो । उहाँले लागुऔषध दुव्र्यसनलाई अन्त्य गर्न सरकारले विभिन्न अभियान सञ्चालन गरेको भए पनि दुव्र्यसनीको सङ्ख्या बढ्दै जानुमा कहीँ न कहीँ कमजोरी भएको महसुस गरिएको बताउनुभयो ।

लागुऔषधको दलदलमा फसेका व्यक्तिलाई दुव्र्यसनको चक्रबाट मुक्त गरी समाजमा पुनःस्थापना गर्न सुधार केन्द्रको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले पुनःस्थापना केन्द्रले उपचार सेवालाई व्यापार बनाउन नहुनेमा जोड दिनुभयो । “उपचार व्यापार नबनोस्, सुधार केन्द्रमा अमानवीय क्रियाकलाप नहोस्, लागुऔषधको नसामा डुबेका नागरिकलाई उपचारका नाममा महँगो शुल्क लिन पाइँदैन”, उहाँले भन्नुभयो ।

उपप्रधानमन्त्री लामिछानेले लागुऔषधको अवैध ओसारपसार नियन्त्रण तथा सेवनकर्तालाई समाजमा पुनःस्थापना गराउन क्रियाशील सङ्घसंस्थालाई सम्मान गर्नुभएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले लागुऔषधको अवैध ओसारपसार तथा सेवन नेपालका लागि चुनौतीको विषय बनेको उल्लेख गर्दै यसको दुरुपयोगका विरुद्ध लड्न सिङ्गो मुलुक एकताबद्ध हुनुपर्ने बताउनुभयो । लागुऔषधको अवैध ओसारपसार तथा सेवन अन्त्यका लागि गृह मन्त्रलायसँग समन्वय गरेर अघि बढ्न स्वास्थ्य मन्त्रालय तयार रहेको उहाँको भनाइ थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले भावनात्मक रिक्तताको अवस्था परिपूर्ति गर्न युवा विद्यार्थी लागुऔषधको शरणमा पुग्ने गरेकातर्फ आमअभिभावक र साथीसङ्गी सचेत हुनुपर्ने बताउनुभयो । उहाँले लागुऔषधको दुव्र्यसनमा फसेका व्यक्तिलाई समाजमा पुनःस्थापित गराउन सिङ्गो राष्ट्र, समाज र परिवारको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले समाज, संस्कृति र परिवारबाट टाढिएका युवा दुव्र्यसनमा फस्ने गरेका उल्लेख गर्दै युवालाई समाजका विभिन्न पक्षसँग जोडिराख्नुपर्ने बताउनुभयो । उहाँले लागुऔषधको अवैध ओसारपसार र सेवनविरुद्धको अभियानलाई राष्ट्रिय मुद्धा बनाई सम्पूर्ण राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

त्यस अवसरमा लागुऔषधको सेवनबाट राष्ट्र, समाज र परिवारलाई पर्ने असरबारे जनचेतना जगाउने विभिन्न नाटक, प्रहसन तथा सांस्कृतिक झलक प्रस्तुत गरिएको थियो । समारोहमा मन्त्रालयद्वारा प्रकाशित लागुऔषध दुरुपयोग नियन्त्रणका विविध आयाम समेटिएको ‘सुरक्षित जीवन’ पत्रिका विमोचन गरिएको थियो ।

‘प्रमाण स्पष्ट छः रोकथाममा लागनी गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ आज विश्वभर लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । नेपालमा विविध कार्यक्रमका साथ साताव्यापी रूपमा दिवस मनाइएको छ । यसवर्षको राष्ट्रिय नारा ‘लागुऔषध दुरुपयोगविरुद्ध लडौँः रोकथाममा जोड दिऔँ’ तय गरिएको छ ।

विश्वव्यापी रूपमा फैलिएको लागुऔषधको अवैध कारोबार तथा सेवनका कारण पर्ने व्यक्तिगत, पारिवारिक र सामाजिक असरबाट नेपाल पनि प्रभावित भएको छ ।

लागुऔषध प्रयोगकर्ता सर्वेक्षण, २०७६ मा नेपालमा करिब एक लाख ३० हजार चार सय २४ लागुऔषध प्रयोगकर्ता रहेका उल्लेख छ । यीमध्ये एक लाख २१ हजार छ सय ९२ पुरुष र आठ हजार सात सय ३२ महिला छन् ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका अनुसार गत जेठ मसान्तसम्ममा लागुऔषध अपराधमा पाँच हजार तीन सय ३९ जना पक्राउ तथा तीन हजार पाँच सय एक वटा लागुऔषध मुद्दा दायर भएका छन् ।

सन् १९५४ देखि नै विश्व स्वास्थ्य सङ्गठनले लागुऔषध सेवन गर्ने कुलतलाई विश्वकै दोस्रो खतरनाक रोग मान्दै आएको छ । लागुऔषध नियन्त्रणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायको सन् २०२३ को प्रतिवेदनअनुसार विश्वमा १५ देखि ६४ वर्ष उमेर समूहका प्रत्येक १७ जनामा एक जना लागुऔषध सेवन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0