कार्तिक २८, दाङ। दाङको राजपुर गाउँपालिकामा आगामी स्थानीय तह निर्वाचनलाई लिएर राजनीतिक सरगर्मी बढ्न थालेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्न युवा नेता गगन वली, रामदास यादव र हेमकुमार जिसीले उम्मेदवार छनोट प्रक्रियाका लागि आफ्नो नाम दर्ता गराएसँगै राजपुरको चुनावी चर्चा सुरु भएको हो।

तीन आकांक्षीमध्ये गगन वलीलाई बलियो दाबेदारका रूपमा हेरिएको छ। सबइन्जिनियरका रूपमा परिचित वली हाल स्नातकोत्तर तहको अध्ययनरत छन्। युवा नेतृत्व, प्राविधिक ज्ञान र शैक्षिक पृष्ठभूमिका कारण उनको उम्मेदवारीले राजपुरको राजनीतिमा नयाँ बहस सिर्जना गर्न सक्ने देखिएको छ।

२०८२ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राजपुर गाउँपालिकाका सातवटै वडामा प्राप्त मतपरिणामले रास्वपाको चुनाव चिह्न घण्टीको उल्लेख्य प्रभाव देखाएको छ।

उपलब्ध मतपरिणामअनुसार सात वडामा घण्टीले कुल ३ हजार ५ सय ४० मत प्राप्त गर्दा नेपाली कांग्रेसको रुखले २ हजार ७ सय ३४ मत प्राप्त गरेको थियो। यसअनुसार घण्टीले रुखभन्दा ८ सय ६ मत बढी प्राप्त गरेको देखिन्छ।

वडागत मतपरिणाम हेर्दा वडा नम्बर १ मा घण्टीले ६ सय ८६, वडा नम्बर २ मा ८ सय ४५, वडा नम्बर ३ मा ५ सय ९१, वडा नम्बर ४ मा ३ सय ११, वडा नम्बर ५ मा ५ सय ३५, वडा नम्बर ६ मा २ सय १२ र वडा नम्बर ७ मा ३ सय ६० मत प्राप्त गरेको थियो।

विशेषगरी वडा नम्बर १, २, ३ र ५ मा घण्टीले प्राप्त गरेको मतले राजपुरमा रास्वपाको बलियो चुनावी आधार रहेको संकेत गर्छ।

यही मतपरिणामलाई आधार मान्दा आगामी स्थानीय तह निर्वाचनमा रास्वपाले राजपुरमा प्रतिस्पर्धात्मक उपस्थिति देखाउन सक्ने राजनीतिक विश्लेषण गर्न सकिन्छ।

तर प्रतिनिधिसभा निर्वाचन र स्थानीय तह निर्वाचनको मत व्यवहार फरक हुने भएकाले अघिल्लो निर्वाचनको मतलाई मात्र जितको आधार मान्न सकिँदैन। स्थानीय मुद्दा, उम्मेदवारको व्यक्तिगत लोकप्रियता, संगठनात्मक सक्रियता र मतदातासँगको सम्बन्धले चुनावी परिणाम निर्धारण गर्नेछन्।

गगन वलीका लागि अघिल्लो निर्वाचनमा देखिएको घण्टीको मताधारलाई थप विस्तार गर्नु मुख्य अवसर र चुनौती दुवै हुनेछ। युवा पुस्ताको प्रतिनिधित्व गर्दै विकास, सुशासन, पारदर्शिता र स्थानीय आवश्यकताका विषयलाई प्रभावकारी रूपमा उठाउन सके उनको उम्मेदवारी थप बलियो बन्न सक्ने देखिन्छ।

अब रास्वपाले तीन आकांक्षीमध्ये कसलाई अन्तिम उम्मेदवार बनाउँछ र राजपुरका मतदाताले कस्तो नेतृत्व रोज्छन् भन्ने विषय चासोका साथ हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0