दैलेख, २८ साउन । दैलेख जिल्ला अस्पतालले महिलाको उपचारमा विशेषज्ञ सेवा थप गरेको छ । गत शुक्रबारदेखि अस्पतालले पाठेघरको शल्यक्रिया, स्तन क्यान्सर तथा आङ खस्ने समस्याको विशेष सेवा थप गरेको हो ।
साथै अस्पतालले १८ हप्तासम्मको सुरक्षित गर्भपतन सेवा र पाठेघरको मुखमा क्यान्सरको सुरुको चरणमा तातोले सेकेर निको पार्ने प्रविधिबाट उपचार सेवा पनि थप गरेको छ ।
आजदेखि अस्पतालमा गाइनोलोजिष्ट डा जगत थापा (एमडी) को आगमनसँगै महिला स्वास्थ्यसम्बन्धी सेवा सञ्चालन भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा मनोज विश्वकर्माले जानकारी दिनुभयो ।
यसैबीच, स्वास्थ्य सेवा कार्यालय दैलेखको जिम्मेवारी सम्हालेपछि कार्यालयको प्रशासनिक काममा पारदर्शिता कायम गरिएको र अस्पतालभित्र फोहर व्यवस्थापनलगायत उचित प्रबन्ध मिलाइएको डा विश्वकर्माले बताउनुभयो ।
मर्मत गर्नुपर्ने र अद्यावधिक हुन नसकेका पुराना प्रयोगशालालाई सुधार, खानेपानीको व्यवस्थापन । म्याद नाघेका औषधिको उचित व्यवस्थापन गरिएको छ । अस्पतालमा दैनिक १० जनाभन्दा बढी महिला विशेषज्ञ सेवा लिन आउने गरेका छन् ।



























