सुर्खेत, १५ साउन । कर्णालीका तीन पालिकाले एकीकृत सेवा सुरु गरेका छन् । रुकुमपश्चिमको चौरजहारी नगरपालिका, सुर्खेतको पञ्चपुरी र दैलेखको दुल्लु नगरपालिकाले एकीकृत सेवा प्रवाह सुरु गरेका हुन् ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको प्राविधिक सहयोगमा ती स्थानीय तहमा एकीकृत सेवा सञ्चालनमा आएको हो । मुगु र जुम्लाको एक–एक पालिकामा पनि सो सेवा सुरु गर्ने तयारी गरिएका छन् ।

सेवा केन्द्र सञ्चालनका लागि कार्यालयमा आफ्नै इन्टरनेट, ‘पावर ब्याकअप’को व्यवस्थापन गरिएको छ । विद्युत् लाइन अवरुद्ध भएका बेला पनि सेवा प्रवाह नरोकिएको पालिकाहरूले जनाएका छन् ।

एकीकृत सेवा प्रवाह सुरु गरेपछि कार्यालय पुग्दा हुने अन्योलता, झन्झट हुन छाडेको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले बताउनुभयो । सेवाग्राहीले सेवाका लागि नाम दर्ता गर्नासाथ आवश्यक पर्ने कागजात के हुन् भन्ने कुराको सूची आफैँ ‘जेनरेट’ हुने गरेको छ ।

यसले गर्दा सेवाग्राहीलाई सहजता भएको उहाँले बताउनुभयो । छिटो र सहज रूपमा सेवा दिने उद्देश्यअनुरूप पालिकाले यो कार्य सुरु गरेको उहाँले बताउनुभयो ।

सरकारी निकायमा सेवाग्राहीको सहजताका लागि एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्रबाट काम गर्न थालिएको चौरजहारीका उपप्रमुख ईश्वरी शर्मा (बीएम)ले बताउनुभयो ।

दुल्लुले गत चैतदेखि एकीकृत सेवा प्रवाह केन्द्र सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत तिलक विकले बताउनुभयो । यसले नागरिकमा सन्तुष्टि बढेको उहाँले जानकारी दिनुभयो । सुर्खेतको पञ्चपुरी नगरपालिकामा पनि एकीकृत सेवा प्रवाह केन्द्रले सेवामा नागरिकको सन्तुष्टि वृद्धि भएको नगरप्रमुख लालवीर भण्डारीले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0