काठमाडौँ, ६ कात्तिक । विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादसीमा पनि टीका र जमरा लगाएर दसैँ मनाइँदैछ ।

नवदुर्गाको प्रसादका रूपमा आज पनि मान्यजनका हातबाट टीका र जमरा लगाएर बडादसैँ मनाइएको छ । विजया दशमीमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मान्यजनहरुबाट आशीर्वाद लिने गरिन्छ ।

गत बुधबार बडादसैँको मुख्य दिन अर्थात् विजयादशमी हो । त्यसदिन टीका थाप्न नभ्याएका तथा अन्यत्र आफन्त एवं मान्यजनकहाँ जानुपर्नेहरुले बिहीबार एकादशी र आज पनि आफन्त तथा मान्यजनकहाँ पुगेर विजयादशमीको टीका थापिरहेका छन् ।

बडादसैँको टीकाको मुख्य दिन बुधबार भए पनि कोजाग्रत पूर्णिमासम्म नै मान्यजनबाट नवदुर्गा भवानीको प्रसादका रूपमा टीका र जमरा लगाउने र दसैँ मनाउने प्रचलन रहिआएको छ ।

विजयादशमीको तेस्रो दिन आज सर्वसाधारणको चहलपहल काठमाडौँ उपत्यकामा केही बढेको देखिएको छ । दसैँमा सुनसान रहेको काठमाडौँ उपत्यकामा आफन्त र मान्यजनकहाँ टीका लगाएर फर्कनेहरुको सङ्ख्या बढेसँगै चहलपहल बढेको देखिन्छ ।

काठमाडौँबाट लामो तथा छोटो दूरीका सवारीसाधन हिजोका तुलनामा आज बढी नै सञ्चालन भएका छन् । यसबाट नागरिकलाई टीका थाप्न जानका लागि पनि सहज भएको छ । बाहिरबाट काठमाडौँ भित्रिने सवारीसाधनहरु बढेकाले सडकमा सवारी र सर्वसाधारणको चहलपहल बढेको देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0