भाद्र २, सुर्खेत । ‘कश्यप ज्योतिःसार’ ग्रन्थ सुर्खेतको वीरेन्द्रनगरमा लोकार्पण गरिएको छ।
पञ्चाङ्गकार तथा ज्यो.प. खगेन्द्रप्रसाद अधिकारीद्वारा लेखन तथा संकलन गरिएको उक्त ग्रन्थ नेपाल ज्योतिष परिषद्का केन्द्रीय उपाध्यक्ष विकास पौडेलको प्रमुख आतिथ्यमा मङ्गलबार लोकार्पण गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि विकास पौडेलले ज्योतिष शास्त्रको ज्ञान, परम्परा र अभ्यासलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउन ‘कश्यप ज्योतिःसार’ महत्वपूर्ण सामग्री बन्ने बताउनुभयो।
उहाँले खगेन्द्रप्रसाद अधिकारीले लामो समयदेखि ज्योतिष क्षेत्रमा पुर्याउँदै आउनुभएको योगदानको प्रशंसा गर्दै त्यसले कर्णालीको सांस्कृतिक तथा बौद्धिक पहिचानलाई फराकिलो बनाउन सहयोग पुर्याएको उल्लेख गर्नुभयो।
नेपाल ज्योतिष परिषद् कर्णाली प्रदेशका अध्यक्ष डा. गौरीशंकर शर्मा, केन्द्रीय उपाध्यक्ष विकास पौडेललगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा वक्ताहरूले अधिकारीको ज्योतिष क्षेत्रप्रतिको निरन्तर सक्रियताको चर्चा गर्नुभयो। उहाँले लामो समयदेखि प्रकाशन गर्दै आउनुभएको ‘कश्यप पञ्चाङ्ग’ समेत विभिन्न जिल्लामा पुगिसकेको जानकारी दिँदै वक्ताहरूले नयाँ कृतिले ज्योतिष शास्त्रका विविध पक्ष बुझ्न थप आधार प्रदान गर्ने बताउनुभयो।
‘कश्यप ज्योतिःसार’ ले ज्योतिषीय ज्ञानको अध्ययन र आकलनमा सहयोग पुर्याउनुका साथै स्थानीय भाषा, संस्कृति तथा परम्परासँग जोडिएका ज्ञान र अभ्यासको संरक्षणमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ। विशेषगरी दैलेख, जुम्लालगायतका क्षेत्रसँग सम्बन्धित स्थानीय ज्ञान, भाषा र सांस्कृतिक पक्षलाई अभिलेखीकरण गर्ने प्रयासका रूपमा समेत कृतिलाई हेरिएको छ।
नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य पूर्णप्रसाद अधिकारीले व्यक्तिले आफ्नो वर्तमान कर्म र योगदानबारे सोच्नुपर्ने बताउनुभयो। आज गरिने काम र कर्मकै आधारमा भावी पुस्ताले आफ्नो मूल्यांकन गर्ने भएकाले प्रत्येक व्यक्तिले समाज र पुस्ताका लागि केही सकारात्मक योगदान छाड्नुपर्ने उहाँको भनाइ थियो।
कृतिका लेखक खगेन्द्रप्रसाद अधिकारीका पिता कृष्णप्रसाद अधिकारीले आफ्नै सन्तानले तयार पारेको कृति आफ्नै हातबाट लोकार्पण गर्न पाउनु जीवनको अविस्मरणीय र गौरवपूर्ण क्षण भएको बताउनुभयो।
लेखक अधिकारीले आफ्ना गुरु तथा पिता कृष्णप्रसाद अधिकारीबाट प्राप्त ज्योतिषसम्बन्धी ज्ञानलाई निरन्तरता दिने उद्देश्यले कृति तयार पारिएको बताउनुभयो। आफ्नै पिताबाट कृति लोकार्पण गराउन पाउँदा आफू हर्षित भएकाे उहाँले बताउनुभयो।
उहाँले प्राकृतिक विपत्तिका रूपमा आउने वर्षा र बाढीले सिर्जना गर्ने कठिनाइबाट विचलित नभई चुनौतीको सामना गर्दै अघि बढ्नुपर्ने उहाँकाे भनाइ छ । कठिन परिस्थितिमा पनि निरन्तर कर्म र प्रयासलाई प्राथमिकता दिनुपर्ने उहाँले उल्लेख गर्नुभयाे ।
कृति लोकार्पणका क्रममा ज्योतिष शास्त्रको ऐतिहासिक महत्व, यसको अध्ययनको आवश्यकता तथा दैनिक जीवन र समाजमा यसको उपयोगिताका विषयमा वक्ताहरूले धारणा राख्नुभयो।
कार्यक्रममा ज्योतिष, पण्डित, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा साहित्यकारहरूको उपस्थिति थियो।

























