लक्ष्मी प्रसाद लम्साल ।
साउन २६, सुर्खेत । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय छिन्चुले ५३ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।
संस्थाले विद्यार्थी तथा अभिभावकलाई वित्तीय अनुशासन र वित्तीय सेवाको सदुपयोगबारे जानकारी दिँदै वित्तीय साक्षरता कार्यक्रमसमेत सञ्चालन गरेको छ।
मंगलबार भेरीगंगा नगरपालिका-१०, तल्लो थानिचौरस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई विभिन्न शैक्षिक सामग्री वितरण गरिएको हो।
कार्यक्रममा भेरीगंगा नगरपालिका-१० का वडा अध्यक्ष वीरबहादुर बस्नेत प्रमुख अतिथि तथा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, अनुगमन कार्यालय वीरेन्द्रनगरका अनुगमन अधिकृत मोहन न्यौपानेको अध्यक्षता रहेको थियो।
कार्यक्रममा शिक्षक–अभिभावक संघका अध्यक्ष रामबहादुर बि.क., विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्मरबहादुर राना, विद्यालयका प्रधानाध्यापक डिल्लीराम घर्ती, कालिका लघुवित्त वीरेन्द्रनगर शाखाका शाखा प्रमुख दीपक भुसाल, शाखा कार्यालय छिन्चुका कर्मचारी, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति थियो।
शैक्षिक सामग्री वितरणसँगै विद्यार्थी तथा अभिभावकलाई बचत, कर्जा, वित्तीय अनुशासन, वित्तीय सेवा तथा त्यसको सदुपयोग लगायतका विषयमा जानकारी दिइएको थियो। कार्यक्रममा वित्तीय कारोबारप्रति सचेतना बढाउने तथा विद्यार्थीमा वित्तीय ज्ञान अभिवृद्धि गर्ने विषयमा समेत जोड दिइएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष वीरबहादुर बस्नेतले कालिका लघुवित्तले वित्तीय कारोबारमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रमा समेत योगदान पुर्याएको भन्दै संस्थाको प्रशंसा गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक डिल्लीराम घर्तीले विद्यालयमा आर्थिक रूपमा विपन्न विद्यार्थीहरूको संख्या उल्लेखनीय रहेको बताउँदै संस्थाले शैक्षिक सामग्री उपलब्ध गराएर विद्यार्थीको अध्ययनमा पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो।
कालिका लघुवित्त शाखा कार्यालय छिन्चुका शाखा प्रमुख चेतनबहादुर राना क्षेत्रीका अनुसार संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रमले विपन्न तथा जेहेन्दार विद्यार्थीको शैक्षिक यात्रामा सहयोग पुग्नुका साथै विद्यार्थी र अभिभावकमा वित्तीय ज्ञान तथा सचेतना अभिवृद्धि गर्न योगदान पुर्याएको छ।
कार्यक्रमको सञ्चालन शाखा कार्यालय छिन्चुका शाखा प्रबन्धक चेतनबहादुर राना क्षेत्रीले गर्नुभएको थियो।


























