सुर्खेत, २३ साउन । बराहताल गाउँपालिका ८ सुर्खेत हुर्केस्थित शान्ति सामुदायिक वनबाट सुर्खेत प्रहरीले तीन थान भरुवा बन्दुक बरामद गरेको छ ।
प्रहरी चौकी बड्डीचौर सुर्खेतबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्र परियारको नेतृत्वमा खटिएको पाँच सदस्यीय टोलीले आज सामुदायिक वनमा गस्ती गर्ने क्रममा सुकेको सालको रुखको टोड्कामा लुकाइछिपाई राखेको अवस्थामा दुई थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनाबारे थप अनुसन्धान तथा मुचुल्काका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको नेतृत्वमा पाँच सदस्यीय टोली घटनास्थलतर्फ खटिएको थियो ।
टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गर्ने क्रममा सोही रुखको टोड्कामा लुकाइराखिएको थप एक थान भरुवा बन्दुक फेला पारेको उहाँले बताउनुभयो ।
सो स्थानबाट तीन थान भरुवा बन्दुक बरामद भएको र बरामद बन्दुकबारे अनुसन्धान भइरहेको उहाँले
बताउनुभयो ।
घटनास्थल प्रहरी चौकी बड्डीचौरबाट करिब १२ किलोमिटर पूर्व र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट करिब ३२ किलोमिटर पूर्वमा पर्छ ।

























