सुर्खेत, १० साउन । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिनभएको छ ।

कर्णाली प्रदेशको दोस्रो कार्यकालको आठौँ अधिवेशनको शनिबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले पदबाट राजीनामा दिनुभएको हो ।

मुख्यमन्त्री कँडेल विरुद्ध गत असार ३२ गते प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि शनिबार दिउँसो ३ः०० बजे प्रदेशसभा बैठक बोलाइएको थियो ।

उक्त अविश्वासको प्रस्तावमाथि मतदान हुन अघि नै कँडेलले राजीनामा दिएपछि अब नयाँ सरकार गठन प्रक्रिया अगाडि बढेको छ ।

गत असार ३२ गते नेपाली कांग्रेस र नेकपाका गरी १६ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री कँडेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

एमाले र नेकपाबीच तीनबुँदे सहमति

राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र पार्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ ।

दुई पार्टीबीच प्रदेशसभामा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार संयुक्त सरकारमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ ।

मधेस र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरुप तय गर्ने सहमति जुटेको संयोजक दाहालका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो ।

सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0