सुर्खेत, जेठ २६ । वीरेन्द्रनगरमा जारी १९ वर्षमुनीको महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताका पछिल्ला तीन खेलमा लगातार जीत हात पार्दै आएको सुदूरपश्चिमलाई चौथो खेलमा ब्रेक लागेको छ भने मधेसको अविजित यात्रा जारी छ । कर्णालीले भने हालसम्म खेलेका तीन वटै खेलमा निरन्तर हार व्यहोरेको छ ।
मंगलबार भएका खेलमा गण्डकीसँग ४ विकेटले पराजित भएपछि सुदूरपश्चिमको विजय यात्रामा ब्रेक लागेको हो । मधेसले भने बागमतीलाई २९ रनले हराउँदै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
कालुङचोक मैदानमा टस जितेर सुदूरलाई ब्याटिङका लागि निम्ता दिएको गण्डकीले १९ दशमलव ५ ओभरमा जम्मा ८७ रनमा सुदूरलाई अलआउट गर्न सफल भयो । सुधारिएको बलिङ गरेको गण्डकीका लागि प्लयेर अफ दि म्याच रचना चौधरीले ४ ओभरमा २ ओभर मेडन राख्दै ६ रन दिएर ५ विकेट हात पारिन । यस्तै आयुष्मा चापागाईको नाममा ४ विकेट रह्यो ।
गण्डकीका लागि रचना चौधरीले २७ रनको योगदान दिंदा ज्योत्सिनाका मरासिनी र सेरिना थापाले समान १७–१७ रन जोडे ।
अघिल्ला खेलहरुमा आक्रामक खेलेको सुदूरका ब्याटर चौथो खेलमा भने फितलो सावित भए । सुदूरका लागि स्नेहा महरा र करुणा विष्टले समान दश–दश रन जोड्नबाहेक अरु सबै एकल अंकमै सीमित भए ।
वीरेन्द्रनगर मैदानमा भएको मगलबारको बिहानको खेलमा टस जितेर पहिला बलिङ रोजेको बागमतीविरुद्ध मधेसले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १४० रनको स्कोर खडा गर्यो ।
मधेसकी ओपनर सना परविनले आप्mनो ब्याटिङ लयलाई कायम राख्दै ६० बलमा ११ चौकासहित ६८ रन बनाउँदा भूमि सिंह र एलिशा यादवले २१–२१ रन जोडे ।
बलिङतर्फ बागमतीका काबिया रावल, सम्भाव्या ढकाल र कृष्मा गुरुङको नाममा समान एक–एक विकेट रह्यो । जवाफी ब्याटिङमा उत्रिएको बागमतीका लागि सेविकाकुमारी यादवले १८ तथा लक्ष्मीमाया रुम्बा लिम्बूले १४ रन बनाए । बागमतीलाई सस्तैमा रोक्ने क्रममा प्लयेर अफ दि म्याच प्रतिमा साहले ३ विकेट झारिन ।
मंगलबारको अर्को खेलमा घरेलु टोली कर्णालीले कोशीसंग २४ रनको पराजयसंग ब्यहोर्यो । कर्णालीको यो लगातार तेस्रो हार हो । कर्णालीविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको कोशीले ८ विकेटको क्षतिमा १२५ रन बनायो । कोशीका प्रिन्सा रानामगरले ३०, टीका शाहले २७, प्रिया मल्लाहले १२ तथा पूर्णिमा राजबंशीले ११ रन बनाए ।
१६ रन अतिरिक्त पाएको कर्णालीका लागि समीक्षा बीसीले २०, शिखा दुवाडीले १५, सोविका शाहीले १४, सोना चन्दले १२, आयिश्मा गिरीले १० रन बनाएपनि अरुको प्रदर्शन साविकझैं कमजोर रह्यो ।
कोशीका कृष्टिना धामीले ४, टीका शाहले ३ र बन्धना राजवंशीले २ विकेट लिए । प्रतियोगिताको चौथो दिनको खेलहरु सकिंदासम्म ३ खेलमा तीनवटै जित हात पारेको मधेस शीर्ष स्थानमा उक्लिंदा सुदूरपश्चिम दोश्रोमा झरेको छ ।


























