सुर्खेत, २ जेठ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा उहाँले पार्टी छिन्नभिन्न अवस्थामा रहेकाले पार्टीलाई एकताबद्ध र मजबुत बनाउने उद्देश्य आफूहरू क्रियाशील रहेको बताउनुभयो ।
पूर्वकार्यवाहक सभापति खड्काले पार्टी विभाजनको अवस्थामा गएको भन्दै यसलाई रोक्न पार्टी नेता र कार्यकर्ता गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सभापति गगनकुमार थापालाई सिङ्गो कांग्रेसको सभापति भएर नेतृत्व गर्न आग्रह गर्नुभयो ।
खड्काले घेराबन्दी र गुटबन्दीबाट जोगिएर सही नेतृत्व गर्नु आजको आवश्यकता रहेको धारणा राख्नुभयो । उहाँले कांग्रेसमा समस्या आउँदा देशले नै समस्या भोग्नुपरेको स्मरण गर्दै हाल देखिएका समस्या समाधान गरेर पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
कांग्रेस नेता जीवनबहादुर शाहीले पार्टीलाई बलियो बनाउन जिम्मेवार भूमिका खेल्न सबैलाई आग्रह गर्नुभयो ।























