काठमाडौँ, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी हुनुभएको छ ।

निर्वाचन आयोगका अनुसार काठमाडौँ– १ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का रञ्जु न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

साथै मोरङ–६ मा रास्वपाका रुविना आर्चाय ५५ हजार ५१३ मत, कास्की–३ मा रास्वपाका बिना गुरुङ ३७ हजार ७५० मत र कैलाली–१ रास्वपाका कोमल ज्ञवाली १७ हजार ८२६ मत प्राप्त विजयी हुनुभयो ।

दैलेख निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार बासना थापाले १२ हजार ३७२ मतप्राप्त गरी विजयी हुनुभएको छ ।

रास्वपाकी सोविता गौतम (चितवन–३)ले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका रेनु दाहालले २० हजार ६१५, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले आठ हजार ३४४ र नेकपा (एमाले)का शङ्करराज थपलियाले पाँच हजार चार मत प्राप्त गर्नुभयो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक थापामगरले एक हजार २२६ मत प्राप्त गर्नुभयो ।

यस क्षेत्रमा कूल एक लाख ५५ हजार २१२ मतदाता रहेकामा एक लाख ३३ मत खसेको थियो । जसमध्ये तीन हजार ३७५ मत बदर भएको छ ।

जारी मतगणनामा डा तोसिमा कार्की (ललितपुर–३), इन्दिरा रानामगर (झापा–२), निशा डाँगी (झापा–१), नीतिमा भण्डारी (कार्की) (सर्लाही–१), आशिका तामाङ (धादिङ–१), पुष्पाकुमारी चौधरी (सप्तरी –१) र गौरीकुमारी (महोत्तरी-४)मा अग्रस्थानमा हुनुहुन्छ ।

आयोगका अनुसार हालसम्म ४५ स्थानमा नतिजा सार्वजनिक भइसकेको छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कूल १६५ निर्वाचन क्षेत्रमध्ये हाल ११८ स्थानमा मतगणना जारी छ ।

प्रतिनिधिसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ कूल तीन हजार ४०६ मध्ये महिला उम्मेदवार ३८८ जना हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0