
मंसिर १६, सुर्खेत । वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर ८, सुर्खेतको तेइसौं वार्षिक साधारण सभाबाट खगेन्द्र प्रसाद भट्टराई अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
मंगलबार वीरेन्द्रनगरमा सम्पन्न भएको वार्षिक साधारणसभाको एकाई प्रतिनिधिहरुको सभाले भट्टराईको अध्यक्षतामा नौ सदस्यीय नयाँ संचालक समितिलाई निर्विरोध निर्वाचित गरेको हो ।
निर्वाचित हुने अन्य पदाधिकारीहरुमा उपाध्यक्ष प्रेम प्रसाद चालिसे, सचिव पोषणराज रेग्मी र कोषाध्यक्ष हिरा बुढा मगर रहनुभएको छ । त्यस्तै सदस्यहरुमा डिले वली, काँशीमाया राना, यामकुमारी हमाल, सुवास आचार्य र इमादेवी पोख्रेल पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।
त्यस्तै लेखा समितिमा पनि तिलक खनाल संयोजक तथा भुमिसरा वि.सीं के.सी र डिल्लीराम आचार्य सदस्य पदमा निर्विरोध निर्वाचित हुनुभएको छ । सहकारी ऐन तथा नियमावली अनुसार विभिन्न ७ वटा एकाई बैठक पश्चात उक्त एकाई बैठकहरुबाट चयन भएका एकाई प्रतिनिधिहरुको सभा मार्फत आज संस्थाको तेइसौं वार्षिक साधारणसभा सम्पन्न भएको संस्थाका कार्यकारी प्रवन्धक सुरजप्रसाद आचार्यले बताउनु भयो ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका संस्थापक सल्लाहकार कमलराज रेग्मीले वातावरणले कर्णाली प्रदेशका विकट जिल्लाका विपन्न परिवारसँग लघुवित्त कार्यक्रमको माध्यमबाट हातेमालो गर्दै उनीहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको साथै जीवनस्तर माथि उठाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
संस्थाका अध्यक्ष चन्द्रलाल आचार्यको अध्यक्षतामा सम्पन्न भएको वार्षिक साधारणसभामा संस्थाका सल्लाहकारहरु कृष्णप्रसाद पौडेल, देवकुमार सुवेदी, कानुनी सल्लाहकार उत्तमप्रसाद आचार्य लगायतका वक्ताहरुले आ–आफ्नो भनाई राख्नुभएको थियो भने संस्थाको आ.व. २०८१/०८२ को अवधिमा उत्कृष्टता हासिल गर्ने उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।
त्यस्तै वार्षिक साधारणसभाले संस्थाका सचिव राधाकुमारी ढकालले पेश गरेको संस्थाको चालु आ.व. २०८२/०८३ को रू.७ अर्व ९० करोड ५९ लाख ३९ हजार २ सय १० रुपैयाँ १६ पैसाको संशोधित र आगामी आ.व. २०८३÷०८४ को रू.९ अर्व ५९ करोड ७५ लाख ७४ हजार २ सय १० रुपैयाँ १६ पैसाको प्रस्तावित बजेट तथा कार्यक्रमलाई समेत स्वीकृत गरेको कार्यकारी प्रवन्धक आचार्यले जानकारी दिनुभयो ।



























