
काठमाडौँ, ६ असोज । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते निर्वाचन, भ्रष्टाचार नियन्त्रण र पुनःनिर्माणका काममा सरकार केन्द्रीत हुने बताउनुभएको छ ।
साेमबारसिंहदबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि मन्त्रालयका उच्च कर्मचारी र मातहतका निकायका प्रमुखलाई निर्देशनसहितको मन्तव्य दिँदै उहाँले जनताले महसुस गर्ने गरी अन्तरिम सरकारले काम गर्ने बताउनुभयो ।
वर्तमान सरकार जेनजीको बलिदानको जगमा उभिएको उल्लेख गर्दै मन्त्री खरेलले नयाँ पुस्ता एवं नागरिकको कार्यदेशअनुसार सुशासन कायम, भ्रष्टाचार नियन्त्रणको आधार निर्माण र जनतालाई मौलिक अधिकारको महसुस हुने गरी काम गर्ने बताउनुभयो ।
मन्त्री खरेलले मन्त्रालयका कर्मचारीको काममा आफूले कुनै पनि हस्तक्षेप नगर्ने बताउदै स्वतन्त्र रूपमा प्रभावकारी कार्यसम्पादनका लागि आग्रह गर्नुभयो । राजनीतिक हस्तक्षेप र दलीयकरण नभई कर्मचारीतन्त्रको योग्यता, क्षमताअनुसार काम भएमा सार्वजनिक सेवा प्रभावकारी हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री खरेलले अन्तरिम सरकारले छोटो समयमा प्रतिफलयुक्त काम गर्नका लागि सबैसँग सहयोग र सहकार्यको अपेक्षा रहेको बताउनुभयो ।
मन्त्री खरेलले मन्त्रालयले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) ‘पोलिसी’ र ‘डिजिटल फ्रेमवर्क’मा केन्द्रीत भएर काम गर्ने बताउनुभयो ।
