सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पछिल्लो समय प्रतिगामीहरू गणतन्त्र उल्टाउन दुष्प्रयासमा लागेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वीरेन्द्रनगर कमिटीद्वारा बुधबार सुर्खेतमा आयोजित भेलामा उहाँले ७० वर्ष लामो सङ्घर्षपछि ल्याइएको गणतन्त्र र संविधानमाथि प्रहार गर्न थालेकाले नागरिक सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री कँडेलले राजनीतिक परिस्थिति नयाँ मोडतर्फ गएको र संविधान अर्धमृत अवस्थामा पुगेको भन्दै नागरिकस्तरबाटै होसियार रहनुपर्ने बताउनुभयो । “सात दशकको त्याग, बलिदान र सङ्घर्षपछि ल्याइएको संविधान समस्यामा छ । यसलाई जोगाउन सम्पूर्ण नागरिक सचेत हुन जरूरी छ”, उहाँले भन्नुभयो, “सरकारले बेलैमा कानुनी संरचना परिवर्तन नगरेको र संवैधानिक व्यवस्था कार्यान्वयनमा कमजोर देखिएका कारण यो अवस्था आएको हो । अब सबै सुध्रिनुपर्छ ।”

पार्टी कार्यकर्तालाई जनस्तरमा मजबुत सम्बन्ध बनाउन, विश्वास जगाउन र सङ्गठनलाई बलियो बनाउन आह्वान गर्दै कँडेलले व्यक्तिगत विषयभन्दा परिस्थिति बुझेर दायित्व पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले संविधान दिवसलाई विशेष रूपमा मनाउनुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0