काठमाडाैँ । सरकारले रातो मच्छिन्द्रनाथको रथयात्रा (भोटो देखाउने जात्रा) र मिननाथ रथयात्राका लागि ६६५.९७ क्यू फिट काठ गुठी संस्थानलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को यही चैत २५ गते बसेको बैठकका निर्णय मंगलबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त वन पैदावारको हुन आउने राजस्व रोयल्टी मिनाहा गर्ने निर्णय भएको बताउनुभयाे ।

बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत कार्यरत सहसचिव राजेन्द्रप्रसाद शर्माको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।

साथै, गृह मन्त्रालय तथा मातहतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

यसैगरी सरकारले २०८२ जेठ १५ गतेदेखि १७ गतेसम्म जापानको राजधानी टोकियोमा आयोजना हुने एसिया प्यासेफिक टेलीकम्युनिटी बैठक -Asia Pacific Telecommunity Ministerial Meeting -APT–MM_ मा सहभागी हुन सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङलाई स्वीकृति दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसालको यही चैत २४ गते आइतबारका दिन ९७ वर्षको उमेरमा असामयिक निधन भएकामा गहिरो शोक व्यक्त गरेको छ ।

यस्तै सरकारले यही चैत २८ र २९ गते काठमाडौँमा हुने नेपाल–भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले आगामी वैशाख २६ र २७ गते भुटानको थिम्पुमा आयोजना हुने १८औँ South Asia Power Secretaries Roundtable -PSRT कार्यक्रममा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा)लाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले नेपाली सेनाअन्तर्गत एक जनालाई महासेनानीबाट सहायक रथी दर्जामा बढुवा गर्ने, एक जनालाई सहायक रथीबाट उपरथी दर्जामा बढुवा गर्ने तथा एक उपरथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।

आगामी जेठ ४ गतेदेखि ७ गतेसम्म बेलायतको लन्डनमा हुने Education World Forum २०२५ मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0