सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको विषय कर्णालीप्रतिको विश्वास भएको बताउनुभएको छ ।

वीरेन्द्रनगरमा शनिबार आयोजित १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सरोकारवालासँग छलफल तथा परामर्श कार्यक्रममा उहाँले प्रतियोगिता आयोजनासँगै प्रदेशको देश तथा विदेशबाट मूल्याङ्कन हुने प्रष्ट पार्नुभयो ।

अहिले नै खेलकुद प्रतियोगिताका लागि दिनगन्ती सुरु हुने बेला नभएको उल्लेख गर्दै उहाँले त्यसअनुसार अहिलेको व्यवस्थापन कमजोर भयो भन्न नहुने धारणा राख्नुभयो । मुख्यमन्त्री कँडेलका अनुसार निर्धारित समयानुसार आगामी मङ्सिर २ देखि ९ गतेसम्म प्रतियोगिता आयोजना हुँदैछ ।

प्राप्त बजेटबाट दक्षतापूर्वक काम देखाउन खेलकुद परिषद्लाई निर्देशन दिँदै मुख्यमन्त्री कँडेलले ठाउँठाउँ पुगेर विभिन्न माग नराख्न पनि ध्यानाकर्षण गराउनुभयो । गर्नुपर्ने कामहरू सरकारका तर्फबाट सरकारका प्रतिनिधिले गरिरहेको जानकारी गराउँदै उहाँले कमजोर आन्तरिक आम्दानी भएको अवस्थालाई ध्यान दिएर खेलाडीलाई परिस्थिति बुझाउन अधिकतम् प्रयास गरिने प्रतिबद्धता जनाउनुभयो ।

आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले लामो समयसम्म खेलकुद गतिविधि नबढ्नुले सरकारप्रति खेलाडीको गुनासो बढेको बताउनुभयो । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल पार्ने दायित्त्व पूरा गरिने उहाँको भनाइ छ । उहाँले आर्थिक मामिला तथा योजना मन्त्रालयका तर्फबाट गर्नुपर्ने बजेटलगायत व्यवस्थापनमा कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले निर्धारित खेलमध्ये थप खेल समावेश गर्न आफ्नातर्फबाट गर्नुपर्ने काम आन्तरिक रूपमा बढाइरहेको जानकारी दिनुभयो ।

प्रतियोगितामा दुई प्रमुख जिम्मेवारी प्रदेश सरकारको काँधमा आएको उल्लेख गर्दै उहाँले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने र कर्णालीले दुई अङ्कको पदक लिनुपर्ने चुनौती देखिएको बताउनुभयो ।

मन्त्री भण्डारीले यसका लागि आवश्यक हुने बजेट, खेलाडीलाई दिनुपर्ने बन्द प्रशिक्षणसहितका आवश्यक व्यवस्थापनका लागि तयारी भइरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0