तिर्थ बहादुर थापा ।
साउन ४, सुर्खेत । यस साता मात्रै १ दिन घटेको सेयरबजार बाँकी ४ दिनमा भने हरियाली देखियो ।
जम्मा पाँच दिनको कारोबारमा सोमबार बाहेक साताको अन्य दिनहरुमा शेयर कारोबार मापक नेप्सेले आफ्नो बढोत्तरीलाई कायम राख्न सफल भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार शेयर बजारमा यस हप्ता पाँच दिनमा कूल ५३ अर्ब ९ करोड ८६ लाख भन्दा बढी रकम बराबरको कारोबार भएको छ ।

साताको पहिलो दिन आइतबार परिसूचक ५२.९७ अङ्कले बढेर २२५७.५९ अंकमा पुगेको थियो ।
यसदिन ७ अर्ब ३२ करोड ३८ लाख ६४ हजार ८ सय ३८ मूल्य बराबरको कारोबार भएको थियो ।

त्यस्तै कारोबरको दोस्रो दिन सोमबार भने नेप्से घटेको थियो ।
यसदिन परिसूचक १७ दशमलव १८ अङ्कले घट्दा ८ अर्ब ६३ करोड ७६ लाख १३ हजार २ सय ४३ बराबर रकमको कारोबार भएको थियो ।

सोमबार घटेको नेप्से बाँकी ४ दिन भन आक्रामक शैलीले बढेको थियो ।

मंगलबार ७०.१८ अंकले बढेको नेप्से बुधबार ५४.०४ अंकले र साताको अन्तिम दिन बिहीवार नेप्से ५९.६८ अंकले बढेर २८ महिनापछि २४ सय बिन्दुमाथी अडिएको हो ।

साताको अन्तिम दिन १५ अर्ब ४७ करोड ४ लाख ८६ हजार ९ सय ६ रुपैया बराबरको कारोबार भएको थियो ।

२ हजार २ सयको अवरोध ७ औँ पटकमा तोडियो

२०७९ बैशाख ११ गते २४ सय २० दशमलव ९१ अंकमा बन्द भएको नेप्से त्यसको भोलिपल्ट ३४ दशमलव ९ अंकले घटेर २३८६ दशमलव ०१ मा बन्द भएको थियो ।

त्यसयता नेप्से पहिलोपटक बिहीवार २४ सय बिन्दुमाथी पुगेर अडिएको छ । यसअघि बारम्बार नेप्से २२ सयको आसपास आएर फर्किएको थियो । लगातार घटिरहेको बजार १८ सय ६ बिन्दु पुगेर फर्किएको थियो ।

यसरी फर्किएको नेप्सेले पहिलोपटक २०७९ साउन १६ गते २२ सयको बिन्दुलाई छोएको थियो भने त्यसै बिन्दुबाट पुनः घट्न सुरु भएको थियो ।
यसरी नेप्से जम्मा जम्मी ६ पटक २२ सयको आसपास पुगेको थियो भने त्यो भन्दा माथि जान सकेको थिएन ।

तर यो पटक भने नेप्सेले बारम्बारको आफ्नो अवरोधको रुपमा रहेको क्षेत्रलाई तोडेको छ ।
अबको हप्ता बजार कस्तो रहन्छ भन्ने सबैको कौतुहलताको विषय बनेको छ ।

तर, राष्ट्रबैंकबाट जारी हुने मौद्रिक नितिको पनि बजारमा केही प्रभाव पर्ने देखिन्छ ।
शुक्रवार जारी हुने भनिएको मौद्रिक नीति तयारी नपुगेको भन्दै स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0