सुर्खेत, २ साउन । जाजरकोटमा भूकम्प पीडितको अस्थायी टहरामा पहिरो खस्दा चार जना घाइते भएका छन् ।
गए राति ९ः३० बजेको समयमा कुशे गाउँपालिका–८ को दल्लेनामा टहरा माथिबाट पहिरो खस्दा चार जना गम्भीर घाइते भएका हुन् ।
नेपाली सेनाको हेलिकप्टरबाट घाइतेहरुलाई थप उपचार गर्न आज कर्णाली प्रदेश अस्पताल सुर्खेत पु-याइएको छ ।
कुशे गाउँपालिका–८ का वडाध्यक्ष डिल्लीबहादुर सिंहका अनुसार घाइते हुनेमा कुशे गाउँपालिका–८, दल्लेनाका २९ वर्षीय कमला थापा, ३५ वर्षीय दलसरी थापा तथा उहाँकी चार वर्षीया छोरी इस्तिका थापा र १७ वर्षीया छोरी निर्माया थापा रहेका छन् ।
उनीहरुको शरीरमा गम्भीर चोट लागेको उहाँले बताउनुभयो । स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले समन्वय गरी नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको वडाध्यक्ष सिंहले बताउनुभयो ।
मनसुन सक्रिय भएसँगै वडामा एक सय ५० भन्दा बढी ठाउँमा पहिरो गएको उहाँले जानकारी दिनुभयो ।
भूकम्पका कारण जोखिम कम रहेका ठाउँमा पनि पहिरो जान थालेको वडाध्यक्ष सिंहले बताउनुभयो ।
सरकारले अस्थायी आवास निर्माणका लागि दोस्रो किस्ता रकम नदिनु र भवन निर्माण कार्यविधि नबन्दा थप समस्या भएको उहाँको भनाइ छ ।