काठमाडौँ, २८ असार । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने ‘सुविधा थैली’ को सेवासुविधा परिमार्जित गरेको छ ।

बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले विज्ञहरुको सुझावअनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवा सुविधाको नयाँ दर कायम गरिएको बताउनुभयो । उहाँका अनुसार सुविधाको नयाँ थैली आगामी साउन १ गतेदेखि लागू गरिनेछ ।

उहाँले लामो समयदेखि एउटै दरमा उपलब्ध सेवासुविधालाई समयानुकूल परिमार्जन गरिएको बताउनुभयो ।

यसअघि आंशिक रुपमा परिमार्जन गरिए पनि यसपटक भने सबै सेवासुविधाको दर परिमार्जन गरिएको हो ।

नयाँ सुविधा थैलीमा स्वास्थ्य बीमाअन्तर्गत एक हजार दुई सय ९० प्रकारका औषधि रहेका छन् ।

अस्पताल टिकट ५० तोकिएको छ । शय्याको प्रतिदिन दुई सय ५० राखिएको छ । यसअघि साधारण शय्याको दुई सय थियो ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि तीन हजार पाँच सय बराबरको योगदानका आधारमा एक लाखसम्मको स्वास्थ्य सेवासुविधा उपलब्ध गराइन्छ ।

यस्तै थप प्रतिसदस्य रु सात सयका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार बराबरको सेवासुविधा थपिने प्रावधान रहेको छ । स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा दुई लाखसम्म तोकिएको छ ।

बीमा कार्यक्रममा कूल बीमित परिवार सङ्ख्या २३ लाख ९२ हजार छ सय ७६ जना र कूल बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ जना (२६ दशमलव ५४ प्रतिशत) रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0