काठमाडौँ, १० असार।सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीयताप्रतिको बुझाइमा सबै राजनीतिक दल तथा आम जनसमुदायमा एकरुपता कायम गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०८१ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री जोशीले सङ्घीयताप्रतिको बुझाइमा एकरुपता ल्याउन सबैले योगदान गर्नुपर्ने बताउनुभएको हो ।

प्रशासनीय सङ्घीयता कार्यान्वयनको मुख्य स्तम्भका रूपमा रहेको सङ्घीय निजामती सेवा ऐन राजनीतिक सहमति र सहकार्यमा तत्काल ल्याउनुपर्नेमा जोड दिँदै उहाँले ऐनले राष्ट्र सेवक कर्मचारीलाई अझ बढी उत्प्रेरित, लगनशील र नागरिक सेवामा थप कर्तव्यनिष्ट बनाउन अभिप्रेरित गर्न सक्नुपर्ने धारणा राख्नुभयो ।

“सङ्घीयता कार्यान्वयनको सात वर्ष पूरा गरेका छौँ, कुनै पनि मुलुकलाई सात वर्षमा नयाँ संवैधानिक व्यवस्थाको पूर्ण कार्यान्वयन चुनातीपूर्ण नै हुन्छ । हाम्रो जस्तै शासन व्यवस्था अवलम्बन गरेका विभिन्न देशको अनुभवले पनि त्यस्तै भन्छ”, मन्त्री जोशीले भन्नुभयो, “विगत सात वर्षमा धेरै काम गरेका छौँ, सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित एक सय ६५ वटा कानुन निर्माण÷संशोधन गरिएका छन् ।” उहाँले तीनै तहका कार्यलाई थप व्याख्या गर्ने गरी कार्य विस्तृतीकरण प्रतिवेदन संशोधन मस्यौदा तयार भएको जानकारी गराउनुभयो ।

राजनीतिक सङ्घीयता संस्थागत हुँदै गएको र तीनै तहका दुईवटा आवधिक निर्वाचन सम्पन्न भई लोकतान्त्रिक अभ्यासका माध्यमबाट सरकार गठन भइरहेका उहाँको भनाइ थियो ।

प्रदेश तथा स्थानीय तहमा कर्मचारी व्यवस्थाका लागि प्रदेश लोकसेवा आयोग क्रियाशील भएका र प्रदेश लोकसेवा आयोग क्रियाशील नभएका प्रदेश तथा स्थानीय तहमा सम्बन्धित निकायको अनुरोधमा नेपाल सरकारबाट कर्मचारी व्यवस्था गरिने मन्त्री जोशीको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0