काठमाडौँ, ७ जेठ । गत आर्थिक वर्षको तुलनामा चालु आवमा राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । चालु आवको ११ महिनामा ४१ अर्ब १९ करोड राजस्व सङ्कलन भएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार गत वर्ष सोही अवधिमा ३७ अर्ब सङ्कलन भएको थियो । यो वृद्धि ११ दशमलव ३० प्रतिशतले बढी हो ।

चालु आवको जेठ मसान्तसम्म चार खर्ब ४८ अर्ब राजस्व सङ्कलन भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा नौ दशमलव ६४ प्रतिशतले बढी हो ।

गत वर्ष जेठ मसान्तसम्मको राजस्व असुली चार खर्ब आठ अर्ब थियो । गत वर्षभन्दा चालु आवको यो अवधिसम्म ४० अर्बले राजस्व सङ्कलनमा वृद्धि भएको विभागका महानिर्देशक शिवलाल तिवारीले राससलाई जानकारी दिनुभयो ।

आयकर (भाडा र ब्याजसमेत) बाट दुई खर्ब ३२ अर्ब, मूल्य अभिवृद्धिकर (आन्तरिक)बाट एक खर्ब १२ अर्ब र अन्तःशुल्कबाट ९५ अर्ब सङ्कलन भएको छ ।

महानिर्देशक तिवारीका अनुसार स्वास्थ्य सेवा, शिक्षा र अन्यबाट आठ अर्ब राजस्व उठेको छ । हालसम्म लक्ष्यको ७८ दशमलव पाँच प्रतिशत रकम असुली भएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा राजस्व सङ्कलनमा वृद्धि भए पनि सरकारले चालु आवमा निर्धारण गरेको लक्ष्यमा भने पुग्न सकेको छैन ।

राजस्व योगदानमा करदाता र्यालयहरूमध्येको ठूला करदाता कार्यालयको हिस्सा करिब ४० प्रतिशत छ । यो कार्यालयले एक खर्ब ७५ अर्ब सङ्कलन गरेको छ । ठूला करदाता कार्यालयको राजस्व असुली लक्ष्य दुई खर्ब ३८ अर्ब थियो ।

वार्षिक एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाताबाट ठूला करदाता कार्यालयले कर सङ्कलन गर्दै आएको छ । एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाता सङ्ख्या पाँच सय ४५ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0