काठमाडौँ, ३ कात्तिक । यतिबेला कतै दसैँको रौनक छ, कतै सुनसान त कतै मिलनको खुसी छ र कतै विछोडको पीडा । कतै परदेशिएका आफन्त घर फर्किरहेका छन्, कतै आफ्नै थातथलो छाडेर परदेशिने यात्रामा छन् । कतिका घरआँगन दसैँको स्वागतमा सिँगारिएका छन्, कतिका घरआँगन गत भदौ १० को भोटेकोशी बाढीले बगाएर उराठलाग्दो बगर छ ।
दसैँको रौनकले गाउँबस्ती छपक्कै छोपेका बेला गोरखाको पालुङटार नगरपालिका–५ को परिवेश भने फरक छ । यहाँ विगतका वर्षमा झैँ दसैँको चहलपहल छैन, न त आफन्त भेटघाटको उल्लास नै । गाउँमा दसैँ त आएको छ तर दसैँको कुनै रौनक छैन । विगतमा खुसी र उमङ्ग लिएर भित्रिने दसैँ यस वर्ष पीडा बोकेर भित्रिएको छ ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले यहाँका ३० जना छिमेकीलाई एकै पटक बेपत्ता बनायो । त्यसपछि गाउँको खुसी पनि त्यही बाढीसँगै बगेजस्तै भएको छ । कतिका न लास भेटियो, न श्वास । कुशको प्रतिमा बनाएर काजक्रिया पनि गरिसकेका छन् आफन्तले ।
गत भदौ १० गते बिहान करिब ४ः३० बजे पालुङटार नगरपालिका–५ बाट ३६ यात्रु बोकेको पृथ्वी यातायातको ग२ख ११५२ नम्बरको बस रसुवाको गोसाइँकुण्ड यात्राका लागि निस्किएको थियो । धार्मिक यात्रामा निस्किएका ती यात्रुका परिवारमा आफ्ना मान्छे सकुशल फर्किने अपेक्षा थियो तर भोटेकोशीमा आएको बाढीले ३० जनाको जीवनको यात्रा टङ्ग्याएको थियो ।
गाउँका ३६ जनालाई सुरक्षित यात्रा गराउने लक्ष्य लिएर हिँडेका चालक सागर देवकोटा आफैँ सकुशल रहन पाएनन् । त्यस दिनदेखि भावविह्वल बन्नुभएका बुबा टीकाराम देवकोटालाई दसैँले झन् पीडा थपेको छ । टीकारामले छोरा मात्रै होइन, श्रीमती राममाया देवकोटालाई पनि गुमाउनुभयो । “हाम्रो त्यही एउटा गाडी थियो । छोरा आफैँले चलाउँथ्यो । त्यस दिन बिहानै हिँडेको छोरा र श्रीमतीलाई पनि बाढीले बगायो । अरू आफन्त मैले गुमाएँ,” उहाँ भन्नुहुन्छ, “यो दसैँ सुरु भएदेखि नै झन्झन् विगतका सम्झनाले झस्काउँछ । अरूको घरमा रमझम छ, हाम्रो घरमा तनाव छ । कहिले सकिएला जस्तो लाग्छ ।” अहिले घरमा उमेरले ८० कटेका बुढा बा, सुस्त मनस्थितिकी एउटी छोरी, बुहारी र पाँच वर्षीया नातिनी छन् । छोराकै भरमा परिवारको खर्च टथ्र्यो । अहिले त कसरी जीवन चलाउने भन्ने अनिश्चितता छ ।
एउटै डोकोमा सुख–दुःख बुन्दै जीवनका हरेक उतारचढावमा सँगै हिँड्नुभएका बुबा रामहरि र आमा कमला भोटेकोशी बाढीमा पर्नुभएदेखि नै छोरा सागर देवकोटाका आँखा ओभाएका छैनन् । परदेशबाट कहिले दसैँ आउला र बुबाआमासँगै दसैँ मनाउन गाउँ जान पाइएला भनेर हतारिने सोही गाउँका सागरले अब कहिल्यै पनि बुबाआमाको हातबाट टीका लगाउन पाउनुहुन्न ।
आमाले रातो माटोले घर पोतेर सजाएपछि, बुबाले दसैँका लागि खसीको जोहो गरेपछि दसैँ आएको महसुस हुने सागरलाई अब बाबा–आमाको साथ नै छैन । उहाँसँग सम्झना मात्रै छ, बाबा–आमा हुनुहुन्न । तर यो यथार्थ पत्याउन पनि मन मानिरहेको छैन । अझै बुबाआमा फर्केर आइहाल्नुहुन्छ कि भन्ने झल्कोले सताउन छाडेको छैन । “जीवनभर एक–अर्काको छहारी बनेर बाँच्नुभएका बुबा आमाले जाँदा पनि कसैलाई एक्लै छाड्न रुचाउनुभएन । जिउँदा पनि सँगै, मर्दा पनि सँगै भन्ने बोलीलाई उहाँहरूले आफ्नै जीवनको अन्तिम सत्य बनाइदिनुभयो,” उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको यो भावुक स्टाटसले जो कोहीको मन भारी बनाउँछ ।
एउटै आँगनमा हुर्किएको माया, एउटै चुलोमा पाकेको सम्बन्ध र वर्षौंसम्म जोडिएको मुटुको धड्कन अन्तिम श्वासमा पुगेर पनि अलग्गिन मानेन सायद भन्दै सागर मनको बह पोख्नुहुन्छ । “एउटै चितामा आमाको पार्थिव शरीर र बुबाको कुशको शव लहरै राखेर दागबत्ती दिँदा पञ्चतत्वमा बिलाउँदै गरेको त्यो आगोले शरीरलाई मात्र होइन, उहाँहरूको अटुट प्रेम र समर्पणलाई पनि अमर बनाइदिँदोरहेछ,” उहाँ भन्नुहुन्छ ।
बुबाको सामीप्य र आमाको न्यायो काख एकैपटक गुमाउनुको पीडा सन्तानका लागि पहाड खसेसरह हुँदो हो । घरको मूल खम्बा र ममताको खानी दुवै अचानक ढल्दा सागरलाई सिङ्गो संसार नै रित्तो जस्तो लागिरहेको छ । “विगतमा दसैँ आउँदा गाउँमा बेग्लै रौनक हुन्थ्यो । परदेश गएकाहरू घर फर्किन्थे, आफन्त जम्मा हुन्थे, भेटघाट र रमाइलो हुन्थ्यो तर यस वर्ष गाउँमा दसैँको कुनै उल्लास छैन,” पालुङटार नगरपालिका–५ का वडाध्यक्ष दीपक पाण्डे भन्नुहुन्छ । उहाँका अनुसार उक्त गाडीमा ३६ जना यात्रु सवार थिए । तीमध्ये छ जना सकुशल सम्पर्कमा आएका छन् भने ३० जना अझै बेपत्ता छन् । तीमध्ये कमला देवकोटा, केदार पण्डित, सुजता कौडाल, तारा रानाभाट र सुमी कुमालको सनाखत भएर काजक्रिया सकिएको छ ।
भोटेकोशीको बाढीमा आफ्ना ३० जना छिमेकी बेपत्ता भएपछि गाउँ शोकमा डुबेको पाण्डे बताउनुहुन्छ । चाडपर्वको समय भए पनि कसैको मन रमाउन सकेको छैन । अरू गाउँमा दसैँको चहलपहल बढिरहेका बेला यहाँका परिवार भने आफ्ना मान्छे फर्किने प्रतीक्षामा छन् । त्यसयता गाउँका कतिपय घरमा चुलो त बल्छ तर मनमा खुसी बल्न सकेको छैन ।
दसैँका लागि आवश्यक सामान किनमेल गर्ने, घर सफा गर्ने, आफन्तको स्वागत गर्ने र परिवारसँगै बसेर चाड मनाउने तयारीमा जुट्नुपर्ने बेला गाउँ नै प्रियजनको सम्झनामा टोलाइरहेको छ । “दसैँमा घर फर्किनेहरूको लर्को लाग्दा यहाँ भने आफ्ना प्रियजन कहीँकतैबाट फर्किहाल्छन् कि भनेर झुक्किन्छन् । चाडपर्वले परिवारसँगको सामीप्य र मिलनको खुसी बाँड्ने भए पनि यही समय कसैका लागि पीडा सम्झाउने क्षण बनेको छ,” पाण्डे भन्नुहुन्छ ।
दसैँलाई मीठा परिकार खाने, टीका र जमरा लगाउनुका साथै परिवार तथा आफन्तसँग भेटघाट गर्ने, दुःखसुख साट्ने र वर्षभरिका थकान बिर्सिने अवसरका रूपमा लिइन्छ तर यसपटक भोटेकोशी बाढीले आफन्त गुमाउनेहरूका लागि भने दसैँ आएको भन्दा नआएकै भए हुन्थ्यो जस्तो लाग्छ । रासस


























