सुर्खेत, २२ असोज । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कृषि मौसम सल्लाहसम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड)ले वीरेन्द्रनगरमा आयोजना गरेको दुईदिने गोष्ठी बुधबार सम्पन्न भएको हो ।
गोष्ठीमा कर्णालीको कृषि क्षेत्र र किसानलाई केन्द्रमा राखेर कृषि मौसम सल्लाह, मौसम तथा जलवायु परिवर्तनको प्रभाव र विपद्सम्बन्धी विषयमा प्रस्तुति तथा छलफल गरिएको थियो ।
मौसम तथा जलवायु विज्ञान कार्यालय सुर्खेतका प्रमुख डा इन्दिरा कँडेलले जलवायु परिवर्तनले कर्णालीको खाद्य प्रणाली र जीविकोपार्जनमा पारेको प्रभाव, मौसम पूर्वानुमान र यसको उपयोगका विषयमा प्रस्तुति दिनुभएको थियो । उहाँले कृषि तथा मौसमसम्बन्धी पूर्वसूचना प्रणालीलाई स्थानीयस्तरमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल कृषि अनुसन्धान केन्द्र चितवनका वरिष्ठ वैज्ञानिक रमेश आचार्यले कृषि मौसम सल्लाहको इतिहास, यसको प्रयोग र राष्ट्रिय महत्वका विषयमा जानकारी दिनुभयो । उहाँले कृषि क्षेत्रमा देखिएका जोखिम, स्थानीय तहमा भइरहेका अभ्यास र सिकाइबारे जानकारी दिनुभयो ।
ली–बर्ड परियोजनाका टोली प्रमुख केशव पौडेलले कर्णालीको पहिरो, पूर्वसूचना प्रणाली तथा सुर्खेतको गुर्भाकोट नगरपालिकामा सञ्चालित परियोजनाका बारेमा जानकारी दिनुभएको थियो । उहाँले पहिरोको जोखिम न्यूनीकरणका लागि स्थानीयस्तरमा गर्नुपर्ने काम र कृषि मौसम सल्लाह सेवाबारे प्रस्तुति दिनुभयो ।
गुर्भाकोट नगरपालिकाका कृषि विकास अधिकृत दीपक पौडेल र बाँकेको बैजनाथ गाउँपालिकाका पशु प्राविधिक सुशील थारूले स्थानीय तहले कृषि क्षेत्रमा सञ्चालन गरेका कार्यक्रम, किसानलाई उपलब्ध गराउँदै आएका सेवा तथा कृषि मौसम सल्लाहका विषयमा जानकारी दिनुभयो ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत तिलकप्रसाद पाण्डेले यसता गोष्ठीले प्रदेश सरकार र किसानका लागि महत्वपूर्ण विषय उठाएको बताउनुभयो । उहाँले कृषि मौसम सल्लाहसम्बन्धी सरोकारवालासँग छलफल गरी आगामी दिनमा प्रभावकारी रूपमा अघि बढ्ने बताउनुभयो ।
ली–बर्ड कर्णाली प्रदेश संयोजक कृष्ण लम्सालले कृषि मौसम सल्लाहसम्बन्धी कार्यविधि निर्माण गरी किसानसम्म कृषि तथा पशुपक्षी, मौसम, बाली तथा पशु रोग, कीरा व्यवस्थापन, जलवायुसम्बन्धी जोखिम र विपद्सम्बन्धी सूचना पु¥याउने उद्देश्यले गोष्ठी आयोजना गरिएको बताउनुभयो ।
गोष्ठीमा कृषि, मौसम, जलवायु परिवर्तन, मौसमजन्य विपद्, पूर्वसूचना प्रणालीका चुनौती तथा अवसरबारे छलफल गरिएको थियो ।
कार्यक्रममा कृषि तथा पशु क्षेत्रका सरकारी निकाय, नेपाल कृषि अनुसन्धान केन्द्र, विश्वविद्यालय, मौसम तथा जलवायु विज्ञान कार्यालय, स्थानीय तहका कृषि शाखा, गैरसरकारी संस्था तथा सञ्चारकर्मीको सहभागिता थियो ।


























