साउन १८, सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिका वडा नं. १ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष खीमबहादुर साबदसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उक्त वन उपभोक्ता समूहका पदाधिकारीहरुले काम नै नभएको शीर्षकहरुमा समेत खर्च भएको भनी झुट्टा विवरण तयार गरी गराइ आर्थिक वर्ष २०७२/७३ देखि २०७६/७७ सम्म समितिको रकम हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ ।

सो उपभोक्ता समूहका पूर्व अध्यक्ष साबदसहित सचिव बनौली रोकाय, कोषाध्यक्ष जमान सिंहविरुद्ध १६ लाख ४३ हजार ५८६ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

यसैगरी, पूर्व अध्यक्ष पदम सिं साबद, सचिव पूर्ण देवि धामी र कोषाध्यक्ष रुद्रबहादुर बन्तोलाविरुद्ध २२ लाख ६८ हजार ९७४ रुपियाँ भष्टाचार मुद्दा दायर भएको छ ।

आयोगका अनुसार पूर्व अध्यक्ष हर्कबहादुर बुढा, सचिव तुल्सी दानी र कोषाध्यक्ष चक्रबहादुर साबदविरुद्ध तीन लाख ९० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

पाठक एण्ड एसोसियट्सका रजिष्टर्ड लेखापरीक्षक डिल्लीराम र प्रेमबहादुर विसी एण्ड कम्पनीका रजिष्टर्ड लेखापरीक्षक प्रेमबहादुर विसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ तथा दफा १९ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिइ उनीहरुविरुद्ध सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0