वैशाख ३०, सुर्खेत । अनलाइन जुवा सट्टेबाजी खेलाएर विभिन्न बैंकमा खाता खोली ठगीमा संलग्न भएको आरोपमा सुर्खेत प्रहरीले एक शिक्षकसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त ठगीमा संलग्न पञ्चपुरी नगरपालिका–९ सुर्खेतमा शिक्षक पेसा गरी बस्ने ३९ वर्षीय महेन्द्रकुमार बोहोरा, व्यापारी ४२ वर्षीय यामलाल विक र होटल व्यवसायी ४६ वर्षीय डम्बर विकलाई आज पक्राउ गरेको हो ।

पक्राउ परेका तीन जनाले प्रारम्भिक अनुसन्धानबाट करिब दुई करोड ४६ लाख बराबरको शङ्कास्पद कारोबार गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले बताए ।

उनका अनुसार सामाजिक सञ्जाल इन्टरनेटका माध्यमबाट ठगी गर्ने मनसायले प्रलोभनमा पारी हारजित हुनेगरी अनलाइन जुवा सट्टेबाजी खेलाउने, बैंक खाता खोली उक्त कार्यमा लगाई दुरुपयोग गरी शङ्कास्पद कारोबार गर्ने गरेको गोप्य तथा प्राविधिक सूचनाका आधारमा उनीहरुलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका बोहराले विभिन्न बैंकमा ६ वटा खाता खोली ठगीमा संलग्न भएको, व्यापारी विकले विभिन्न बैंकमा पाँच वटा खाता खोली खाता दुरुपयोग गरी शङ्कास्पद कारोबार गरेको र व्यवसायी विकले विभिन्न बैंकमा नौ वटा खाता खोली दुरुपयोग गरी शङ्कास्पद कारोबार गर्दा प्रारम्भिक अनुसन्धानबाट करिब दुई करोड ४६ लाख बराबरको शङ्कास्पद कारोबार भएको पाइएकाले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बुढ्थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0