सुर्खेत, जेठ २२ । १९ वर्षमुनीको टी–२० महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशले विजयी शुरुवात गरेका छन् । शुक्रबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरु भएको प्रतियोगिता अन्तर्गत कालुङचोक मैदानमा भएको पहिलो खेलमा पाहुना टोली लुम्बिनीले घरेलु टोली कर्णालीलाई ५४ रनले हराउँदै सुखद शुरुवात ग¥यो ।
वीरेन्द्रनगर मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिमले पूर्वेली टोली कोशीमाथि ८९ रनको जीतसहित प्रतियोगिताको शुरुवात गरेको हो । टस जितेर ब्याटिङका लागि निम्ता पाएको लुम्बिनीले कर्णालीविरुद्ध पूरै ओभर खेल्दा चार विकेटको क्षतिमा एक सय ४४ रन बनाएको थियो ।
लुम्विनीका लागि सोविका शाहीले सर्वाधिक १९ रन बनाउँदा रिसाना विश्वकर्माले १७ र उमा चौधरीले १६ रनको योगदान दिए । कर्णालीका लागि सुप्रिया बुढाले ३ विकेट हातपार्दा आशना चौधरी र आयुषा बरालले समान दुई–दुई विकेट लिए ।
सुदूरपश्चिमले सावित्री धामीको आक्रामक ४१ र रश्मी सुनारको ३५ रनको योगदानमा पहिलो खेलमै जीत निकाल्यो । सुदूरलाई बलियो शुरुवात दिलाउने क्रममा ओपनर धामीले ३५ बलमा ४१ र सुनारले ३० बलमा ३५ रन जोड्दा जयन्ति भण्डारीको २० रन सुदूरको जीतका लागि महत्वपूर्ण आधार बन्यो ।
१५१ रनको लक्ष्य पछ्याएको कोशी सुदूरपश्चिमका बलरसामु निरीह बने । कोशीका कुनैपनि ब्याटरले दोहारो अंक छुन सकेनन् । सुदूरका लागि अञ्जु पार्कीले ४ विकेट लिंदा आशिका कुमारी महरा र मनिषा चौधरीले २ दुई विकेट लिए ।
प्रतियोगिता अन्तर्गतको तेश्रो खेलमा गण्डकीले बागमतीमाथि सात विकेटको फराकिलो जीत आत्मसात ग¥यो । टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीका लागि अएली यादवले नट आउट ३२ रनको योगदान दिंदा ओपनर सेविकाकुमारी यादवले १८, पूजा साँवद र सम्भाव्या ढकालले समान १२–१२ रन जोडे ।
गण्डकीतर्फबाट कुसुम गोदार, नीरु जीटी, रञ्जना साउँदले समान दुई–दुई विकेट लिए । ९६ रन पछ्याउन क्रिज उत्रिएको गण्डकीका लागि चन्द्रमाया बरालले ४१ बलमा ३८ तथा श्रेया शाहले जोडेको २२ रनको योगफलनै जीतका लागि पर्याप्त भयो ।


























