काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा तीन दिनसम्म अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी भई अत्यधिक गर्मी हुने सम्भावना रहेको प्राधिकरणद्वारा आज जारी सूचनामा जनाइएको छ । ती प्रदेशको तराईका भू-भागमा मध्यम तातो लहरको सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर जिल्लालाई सतर्कता तथा यस्तै कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडीलाई अद्यावधिक रहनुपर्ने जिल्लाको सूचीमा राखेको छ ।

अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणले विपद् सम्बद्ध सबै निकायलाई आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागद्वारा शुक्रबार जारी तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिनमा जेठ ६ गतेदेखि तराई केही भू-भागमा तापक्रम तीव्र रूपमा बढेको जनाइएको छ । अत्यधिक गर्मीका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांशपेसीहरु दुख्ने, बान्ता हुनेलगायत स्वास्थ्य समस्या देखिनसक्ने चिकित्सकको भनाइ छ ।

तातो हावाको लहरबाट बच्न चर्को घाम लागेका बेला वा दिउँसोको समयमा सकभर घरभित्रै बस्न, बाहिर निस्कनै परे छाटा ओढ्न वा पातलो कपडाले टाउको ढाक्न प्राधिकरणले आग्रह गरेको छ ।

यस्तै खुकुलो, शीलत हुने हल्का रङको कपडा लगाउने, पानी धेरै पिउने, बेलाबेलामा चिसो पानीले नुहाउने, धेरै चिनी नहालेको सर्वत, कागती पानी र फलफूल खाने, धेरै पसिना आएमा जीवनजल पिउन प्राधिकरणले अनुरोध गरेको छ ।

घरमै बनाएको ताजा खानेकुरा खान, सकेसम्म पत्रु खाना (जङ्क फुड) नखान, खेतबारीमा वा बाहिर काम गर्दा बिहान गर्मी बढ्नुअघि वा दिउँसो शीतल फर्केपछि मात्रै गर्न, बालबालिकालाई चर्को घाममा खेल्न जान नदिन प्राधिकरणद्वारा आज जारी सतर्कतासम्बन्धी सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0