काठमाडाैँ ०७, वैशाख । वैशाख ७ गतेदेखि लागु हुने गरी नेपाल स्टक एक्सचेन्ज लिमिटेडले नयाँ नियम लागू हुने भएकाे छ । नेप्सेमा धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२ वैशाख ७ गतेदेखि लागु हुन लागेकाे हाे ।
जसअनुसार, नेप्सेले निर्धारण गरेको कारोबार समयअघि वा पछि ग्राहकले कारोबार सदस्यको प्रणालीमा कारोबारका लागि आदेश दिन सक्नेछन् । त्यस्तो आदेश दिएमा सम्बन्धित कारोबार सदस्यले समय प्राथमिकता क्रममा राख्ने व्यवस्था गर्नुपर्ने भएको छ ।
यसरी आदेश प्रविष्टि गर्दा पछिल्लो कारोबार दिनको अन्तिम कारोबार मूल्यको १५ प्रतिशत घटी वा बढी नहुने गरी मात्र प्रविष्टि गर्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, निरन्तर कारोबार सत्रमा भने कायम भएको मूल्यको तीन प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही आदेश प्रविष्टि गर्न सकिनेछ ।
नेप्सेले निरन्तर कारोबार सुरु हुँदा कायम रहेको नेप्से परिसूचक दुई घण्टाभित्र ५ प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि सर्किट ब्रेक लाग्नेछ । त्यस्नै निरन्तर कारोबारमा कुनै पनि समयमा नेप्से परिसूचक आठ प्रतिशतले घटबढ भए सो दिनको कारोबार बन्द हुनेछ । कुनै पनि संगठित संस्थाको मूल्य भने १५ प्रतिशतसम्म घटबढ हुन सक्ने व्यवस्था विनियमावलीमा गरिएको छ ।


























