काठमाडौँ, २५ फागुन । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि सिर्जित विशेष राजनीतिक परिस्थितिबीच सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा रहेको छ ।
अधिकांश निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ भने समानुपातिकतर्फको मतगणना प्रक्रिया अझै जारी छ । तर, यसपटकको निर्वाचनले नेपाली राजनीतिमा नयाँ पुस्ताको बलियो प्रवेश गराएको छ ।
यसपटक प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ३५ वर्षमुनिका युवाले उल्लेखनीय सफलता हात पारेका छन् । पुराना पुस्ताको बाक्लो उपस्थिति रहेको संसद्मा अब भने नयाँ पुस्ताको उपस्थिति बाक्लो देखिने भएको छ ।
विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका धेरै युवा पुस्ताले विभिन्न निर्वाचन क्षेत्रमा प्रभावशाली मतसहित विजय हासिल गरेका छन् । उहाँहरूको जितले नयाँ सोचलाई अवसर दिन चाहेको सन्देश पनि दिएको छ ।
अब संसद्मा प्रवेश गरेका यी युवा सांसदहरूले जनताले राखेको अपेक्षा कत्तिको पूरा गर्न सक्छन् भन्ने हेर्न बाँकी नै छ । यस निर्वाचनको परिणामले नेपाली राजनीतिमा पुस्तान्तरणको बहसलाई नयाँ ऊर्जा भने पक्कै दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ३५ मुनिका २० जना उम्मेदवार निर्वाचित भएका छन् ।
यसैगरी, नेपाली कांग्रेसबाट एक, श्रम संस्कृति पार्टीबाट एक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना गरी यसपटक २३ जना ३५ वर्षमुनिका उम्मेदवारले प्रत्यक्ष चुनाव जितेका छन् । ३५ वर्षमुनिका सांसदको अग्रसूचीमा हुनुहुन्छ, ३० वर्षीया सोविता गौतम । दोलखाको तामाकोशी गाउँपालिका जामुनेमा जन्मिनुभएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य रहनुभएकी गौतम चितवन–३ बाट विजयी हुनुभएको छ ।
उहाँले ५९ हजार २७७ मत ल्याएर विजयी हुनुभएको हो । गौतमको निकतम प्रतिस्पर्धी रेणु दाहालले २० हजार ६१५ मत प्राप्त गर्नुभएको थियो । ३० वर्षको उमेरमा उहाँ दोस्रोपटक प्रतिनिधिसभाको सांसद बन्नुभएको छ । उहाँले २०७९ सालको प्रतिनिधिसभामा काठमाडौँ–२ बाट जित हासिल गर्नुभएको थियो । कानुनमा स्नातक गर्नुभएको अधिवक्ता गौतमले अत्यधिक मतका साथ विजयी हुनुभयो ।
पैँतीस वर्षमुनिकै अर्का सांसद हुनुहुन्छ, सुलभ खरेल । २०५४ साल भदौ बुटवलमा जन्मुनिभएका खरेल २८ वर्षको उमेरमा नै सांसद बन्ने अर्को उम्मेदवार हुनुहुन्छ । उहाँ प्रतिनिधिसभा सदस्यको चुनावमा रूपन्देही–२ बाट ५६ हजार ५५० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी पूर्वअर्थमन्त्री रहनुभएका नेकपा (एमाले)का उम्मेदवार विष्णु पौडेलले १२ हजार ८६१ मत ल्याउनुभएको थियो । खरेलले नेपाल ल क्याम्पसबाट पाँचवर्षे बिए–एलएलबी अध्यायन गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार रुविना आचार्य विजयी हुनुभएको छ । विराटनगरमा जन्मिनुभएकी आचार्यले ५५ हजार ५१३ मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा शेखर कोइरालाले १२ हजार ८५० मत ल्याउनुभएको थियो ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको चुनावमा बदनकुमार भण्डारी विजयी हुनुभएको छ ।
भुम्लु गाउँपालिका–२ मा जन्मिनुभएका बदनले ५३ हजार ३४४ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत ल्याउनुभएको थियो । भण्डारी ई–कमर्स व्यवसायी तथा मिडियाकर्मी समेत हुनुहुन्छ । ३३ वर्षीय भण्डारीले स्नातक (बिए) उत्तीर्ण गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट झापा क्षेत्र नम्बर १ बाट निर्वाचित २९ वर्षीय निशा डाँगी पनि कलिलो उमेरमा नै सांसद बन्नुभयो । उहाँ २०७९ को प्रतिनिधिसभा सदस्यमा समानुपातिकबाट सांसद बन्नुभएको थियो ।
डाँगीले यसपटक प्रत्यक्षतर्फको उम्मेदवार बन्ने अवसर पाउनुभयो । उहाँले ४५ हजार ६८० मतसहित विजय हासिल गर्नुभयो । डाँगीको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डेले १० हजार ५५० मत ल्याउनुभएको थियो ।
विसं २०५३ मा झापाको भद्रपुर नगरपालिकामा जन्मिनुभएकी डाँगीले काठमाडौँको जया मल्टिपल क्याम्पसबाट सामाजिक कार्यमा स्नातक र त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गर्नुभएको छ ।
२६ वर्षीय मनीष खनाल पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट नवलपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले ४१ हजार ३४७ मतसहित विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार तिलबहादुर महत क्षेत्रीले १५ हजार ७५५ मत ल्याएर उपविजेता हुनुभएको थियो ।
मध्यविन्दु नगरपालिका–६ निवासी खनाल विसं २०५६ असार ११ गते जन्मनुभएको हो । उहाँले नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातक अध्ययन गर्नुभएको हो ।
अट्ठाइस २८ वर्षीय बब्लु गुप्ता पनि निर्वाचित हुनुभएको छ । उहाँले सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधिसभा सदस्यमा विजय हासिल गर्नुभएको हो ।
सामाजिक सेवामा सक्रिय गुप्ताले स्नातकसम्मको अध्ययन पूरा गर्नुभएको छ । उहाँले ४१ हजार ३२२ मतसहित विजय हासिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीले नौ हजार ७७४ मत ल्याउनुभएको थियो ।
रास्वपाबाटै ३५ वर्षमुनिका निर्वाचित उम्मेदवारमध्ये अर्को नाम हो सन्तोष राजवंशी । ३४ वर्षीय राजवंशी मोरङ–४ बाट विजयी हुनुभएको हो । सिराहा–२ बाट रास्वपाकै ३० वर्षीया शिवशङ्कर यादव पनि निर्वाचित हुनुभएको छ ।
रास्वपाबाटै ३३ वर्षीय तपेश्वर यादव पनि सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भइसक्नुभएको छ । रास्वपाबाटै महोत्तरी–२ मा ३४ वर्षीय दीपककुमार साह निर्वाचित हुनुभएको छ । महोत्तरी–३ बाट ३३ वर्षीय उज्ज्वलकुमार झा निर्वाचित हुनुभएको छ ।
काठमाडौँ–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार २९ वर्षीय सस्मित पोखरेल निर्वाचित हुनुभएको छ । २०५२ फागुन १ गते काठमाडौँमा जन्मिनुभएका पोखरेलले कानुनमा स्नातक गर्नुभएको छ । उहाँ रास्वपाका केन्द्रीय सदस्य तथा सहप्रवक्ता हुनुहुन्छ ।
काठमाडौँ महानगरपालिका कार्यालयमा सह–विशेषज्ञ भएर काम गर्नुभएका पोखरेलको महानगरका सेवा–प्रवाह, कार्यक्रम/परियोजना कार्यान्वयन र नतिजा निकाल्ने कार्यान्वयन क्षमता छ । उहाँले काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहका सल्लाहकार भएर काम गरिसक्नुभएको छ ।
पोखरेलले सांसद कार्यालयमा प्रमुख सहायक भएर काम गरिसक्नुभएको छ । उहाँमा नीति/अनुसन्धान, जनगुनासा व्यवस्थापन, टोली परिचालन र समन्वयमार्फत काम ‘टुङ्ग्याउने’ कार्यालय व्यवस्थापन नेतृत्व छ ।
मकवानपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका २५ वर्षीय प्रशान्त उप्रेतीले चुनाव जित्नुभएको छ । २०५७ सालमा मकवानपुरमा जन्मिएका उप्रेती पेसाले पर्यटन उद्यमी हुनुहुन्छ । उहाँले पर्यटन व्यवस्थापनमा स्नातक गर्नुभएको छ ।
निर्वाचित हुने अर्का ३४ वर्षीय उम्मेदवारको अर्को नाम हो सागर ढकाल । रास्वपाकै तर्फबाट गुल्मी– १ बाट उहाँ निर्वाचित हुनुभएको छ । गुल्मीको सत्यवती गाउँपालिका–६, पीपलनेटा स्थायी ठेगना भएको ढकाल पेसाले इन्जिनियर हुनुहुन्छ ।
पैँतीस वर्षमुनिको अर्का सांसद हुनुहुन्छ, प्युठान– १ बाट निर्वाचित ३१ वर्षीय सुशान्त वैदिक । काठमाडौँ– १ बाट निर्वाचित र ३५ वर्षमुनिका अर्को चर्चित नाम हो, रञ्जु न्यौपाने (दर्शना) । वैकल्पिक राजनीतिका रूपमा उदाउनुभएकी ३० वर्षीया रञ्जुले स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ ।
रास्वपाकै अर्का निर्वाचित सांसद हुनुहुन्छ, ३४ वर्षीय सोम शर्मा । उहाँ बाग्लुङ–२ बाट निर्वाचित हुनुभएको हो । रास्वपाकै तर्फबाट स्याङ्जा–२ का उम्मेदवार झविलाल डुम्रेले २५ हजार ३५४ मत ल्याएर विजयी हुनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाटै सप्तरी–२ का उम्मेदवार ३० वर्षीय रामजी यादव २८ हजार ४०४ मत ल्याएर विजयी हुनुभएको छ ।
कैलाली–२ का रास्वपा उम्मेदवार केपी खनालले १९ हजार ५७ मत ल्याएर विजयी हुनुभएको छ । २६ वर्षीय खनालले १३ वर्षदेखि सामाजिक अभियानमा सक्रिय, ‘क्लिन काष्ठमण्डप’ र ‘काठमाडौँ ट्र्यास कलेक्सन’ जस्ता देशव्यापी सरसफाइ अभियानको नेतृत्व समेत गर्नुभएको छ । ‘मैना देवी फाउन्डेसन’ मार्फत बाजुरामा अनाथालय स्थापना, कोरोनाकालमा २०० भन्दा बढी गरिब परिवारलाई सहयोग तथा ‘भोकै छ हुम्ला’ जस्ता मानवीय अभियानको नेतृत्व लिनुभएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सिराहा–४ बाट ३३ वर्षीय तपेश्वर यादव निर्वाचित हुनुभएको छ । महोत्तरी–३ बाट ३३ वर्षीय उज्ज्वलकुमार झा निर्वाचित हुनुभएको छ ।
यसैगरी, प्यूठान–१ उम्मेदवार ३१ वर्षीय सुशान्त वैदिक निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसबाट भने ३२ वर्षीय योगेश गौचन थकाली मुस्ताङ–१ बाट निर्वाचित हुनुभएको छ ।
यसैगरी, जुम्ला–१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३४ वर्षीय ज्ञानबहादुर शाही निर्वाचित हुनुभएको छ । श्रम संस्कृति पार्टीबाट २९ वर्षीय आरेन राई खोटाङ–१ बाट निर्वाचित हुनुभएको छ । रासस



























