कर्णाली, ८ फागुन । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले सञ्चार माध्यमको कर्तव्य र क्षमता विशाल रहेको बताउनुभएको छ ।
राष्ट्रिय समाचार समितिको ६५औँ स्थापना दिवसको अवसरमा रासस कर्णाली प्रदेशद्वारा बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘निर्वाचन आचारसंहितामा सञ्चार’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री शाहले समाजलाई सचेत र गतिशील बनाउन पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “रासस मुलुकको गौरवमय इतिहास बोेकेको समाचार संस्था हो । यसले प्रवाह गरेको सेवा स्वच्छ, भरपर्दो र विश्वसनीय छ”, उहाँले भन्नुभयो ।
जनतालाई सुसूचित गर्ने उद्देश्यले स्थापना भएको राससले आफूलाई अझ बढी आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिँदै मन्त्री शाहले यसले आफ्नो छवि र विश्वसनीयतालाई डगमगाउन नदिएको बताउनुभयो ।
आग्रह पूर्वाग्रहबाट नभई सरकारका राम्रा र नराम्रा गतिविधि दुवै औँल्याएर जनतालाई सूचित गर्न पत्रकारहरुलाई उहाँले अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य नगेन्द्र उपाध्याय, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश कार्य समितिका उपाध्यक्ष अप्सरा विष्टलगायतले समेत आ–आफ्नो धारणा राख्नुभएको थियो ।




























