काठमाडाैँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि शनिबार साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा उपाधिका लागि दिउँसो ३ः३० बजे भिडन्त हुँदैछ ।
साविकको विजेता खेलबाट बाहिरिएपछि यस संस्करणमा नयाँ च्याम्पियन बन्ने पक्का छ । सुदूरपश्चिम र लुम्बिनी उपाधि रक्षाका लागि तयार छन् । लुम्बिनीलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका रोहित पौडेलले सम्हालेका छन् । सुदूरपश्चिमको जिम्मा नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान रहेका दीपेन्द्रसिंह ऐरीको रहेको छ ।
रोयल्स लिग चरण खेल र साविक उपविजेता भएकाले लायन्सभन्दा बलियो देखिएको छ । लिग चरणका सातमध्ये चार खेल जितेर पहिलो क्वालिफायर खेल्दै रोयल्स उपाधि नजिक पुगेको हो । रोयल्स गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग पाँच विकेट पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।
लायन्स यो वर्ष लिग चरणका सातमध्ये चार खेलमा विजयी हुँदै इलिमिनेटर र दोस्रो क्वालिफायर आफ्नो पक्षमा पार्दै फाइनलमा सुरक्षित भएको हो । लुम्बिनी गत संस्करणमा लिग चरणबाटै आउट भएको थियो ।
जारी सिजनमा एकपटक मात्रै यी दुवै टोली एकआपसमा भिडेका हुन् । लिग चरणको उक्त खेलमा रोयल्स सात विकेटले विजयी भएको थियो । गत संस्करणमा एकपटक भेट भएकामा लायन्स ४५ रनले पराजित भएको थियो । तेस्रो भेट दुवैका लागि महत्त्वपूर्ण रहेको छ । जसले जित हात पार्यो । त्यसले खेल मात्रै जित्ने छैन । च्याम्पियन बन्दै इतिहास लेखाउने छ ।
इतिहास लेखाउनका लागि दुवै टोली एक जित मात्रै पछाडि छन् । रोयल्सका कप्तान ऐरीले आफूहरू च्याम्पियन बन्न तयार रहेको बताएका छन् । उनले भने, “गत वर्ष फाइनलनमा चुकेका हौँ । सबै कमीकमजोरी सुधार गर्दै यस पटक च्याम्पियन बन्ने हाम्रो लक्ष्य हो ।”
लायन्सका कप्तान पौडेलले आफूहरू च्याम्पियन बन्नका लागि सबै पक्षबाट तयार रहेको बताएका छन् । उनले भने, “हामीहरू पछिल्लो पाँच खेल लगातार जितेर फाइनलमा पुगेका हौँ । हाम्रो ध्यान अब ट्रफी जित्नेमा छ ।”
रोयल्समा प्रभाव पार्न सक्ने खेलाडी
सुदूरपश्चिम रोयल्समा बलर अभिनाश बोहरा प्रभाव पार्न सक्ने खेलाडीका रूपमा रहेका छन् । जुन उनको हालसम्मको प्रदर्शनले देखाएको छ । जारी सिजनमा भएका आठ खेलमा उनले १६ विकेट लिँदै सबैभन्दा बढी विकेट लिनेको दोस्रो नम्बरमा छन् । उनलाई खास गरेर ‘डेथ ओभर स्पेसलिस्ट’ भनेर चिनिन्छ ।
विदेशी खेलाडी हर्मित सिंह रोयल्सका लागि लयमा देखिएका खेलाडी हुन् । अलराउन्डर खेलाडी सिंहले हालसम्म १२ विकेट लिएका छन् । उनी उत्कृष्ट बलरको छैटौँ नम्बरमा छन् । उनले ब्याटिङबाट एक अर्धशतकसहित १२३ रन जोडिसकेका छन् । एक खेलमा उत्कृष्ट खेलाडीसमेत भए ।
रोयल्सलाई फाइनल पुर्याउन ओपनर ब्याटर विनोद भण्डारीको भूमिका महत्वपूर्ण छ । उनी सर्वाधिक रनकर्ता सूचीमा दोस्रो नम्बरमा छन् । भण्डारीले आठ खेलबाट २६४ रन बनाएका छन् । जसमा दुई अर्धशतक रहेका छन् । उनी यो संस्करणमा दुई पटक प्लेयर अफ द म्याचसमेत भएका छन् ।
कप्तान ऐरी प्रभाव पार्न सक्ने खेलाडी हुन् । उनी सबै पक्षबाट अब्बल मानिन्छन् । उनले हालसम्म बलिङमा आठ विकेट र ब्याटिङमा १४९ रन जोडिसकेका छन् । एउटा खेलमा प्लेयर अफ द म्याचसमेत घोषित भए । स्कट कुग्गेलेइजनप नि बलिङबाट राम्रो प्रभाव पार्न सक्छन् । ओपनर बलरको भूमिकामा रहेको उनले हालसम्म १० विकेट हात पारेका छन् ।
लायन्सका प्रभाव पार्न सक्ने खेलाडी कप्तान पौडेल
लुम्बिनीका लागि सबैभन्दा लयमा देखिएका छन् । उनले ब्याट बल दुवै क्षेत्रबाट राम्रो गरेका छन् । उनी सर्वाधिक रनकर्ताको सूचीमा तेस्रो नम्बरमा छन् । उनले नौ खेलबाट २६० रन जोडेका छन् ।
उनी दुई खेलमा प्लेयर अफ द म्याच समेत चुनिएका हुन् । सर्वाधिक रनकर्ताको पाँचौँ नम्बरमा रहेका लुम्बिनीका विदेशी खेलाडी डार्सी सर्ट लयमा रहेका छन् । उनले नौ खेलबाट २४२ रन जोडेका छन् । जसमा एउटा अर्धशतक पनि छ । युवा बलर शेर मल्लले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनीलाई फाइनल पुर्याउन महत्त्वपूर्ण योगदान गरेका छन् ।
सर्वाधिक विकेटकर्ताको तेस्रो नम्बरमा रहेका उनले नौ खेलबाट १४ विकेट चट्काएका छन् । उनी दुई खेलमा म्याच वीनर बन्दै प्लेयर अफ द म्याचसमेत चुनिए ।
उत्कृष्ट बलरको छैटौँ नम्बरमा रहेका रुबेल ट्रम्पेलम्यान नौ खेलबाट १२ विकेट हात पारेका छन् । उनले राम्रो प्रदर्शन गर्दै आएका छन् ।
उनले ब्याटबाट ६५ रन हिर्काएका छन् ।नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी थिए । एपिएलको विजेताले रु एक करोड १० लाख पुरस्कार प्राप्त गर्नेछन् भने दोस्रो हुने टोलीले रु ५१ लाख, तेस्रो टोलीले रु २५ लाख र चौथोले रु १५ लाख प्राप्त गर्नेछन् । रासस





























