प्रतिनिधिसभा बैठक काठमाडौँ, २२ वैशाखः नयाँ बानेश्वरस्थित स‌ङ्घीय संसद भवनमा सोमबार बसेको प्रतिनिधिसभा बैठक। तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडाैँ । प्रतिनिधिसभाको साेमबारको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबीच घोचपेच चल्याे ।
विशेष समयमा आफ्नो धारणा राख्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सूर्यबहादुर थापा क्षेत्री र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले भष्ट्राचार निवारण र सुशासन कायम गर्ने सवालमा अघिल्लो सरकार र अहिलेको सरकार कसरी चुकिरहेको छ भनेर आरोप–प्रत्यारोप चलेको हो ।

सांसद सूर्यबहादुर थापा क्षेत्रीले नेपालमा छोटो-छोटो समयमा सरकार परिवर्तन हुने र राजनीतिक अस्थिरताका कारण मुलुकको आर्थिक तथा सामाजिक विकास कमजोर भएको उल्लेख गर्नुहुँदै अहिलेको सरकार ढल्दैछ भनेर सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबाट दुष्प्रचार भइरहेको टिप्पणी गर्नुभयो ।

“अहिले सङ्ख्यात्मक हिसाबले बलियो सरकार छ । आलोपालो गर्ने भनेर सातबुँदे सहमति भएर सरकार सञ्चालन भइरहेको छ । तर सरकार विरूद्धका चलखेल जारी छन् । सरकार आजभोलि नै ढल्छ भन्ने दुष्प्रचार भइरहेको छ”, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेस र एमालेबीच आलोपालो सरकार सञ्चालनका लागि भएको सहमतिअनुसार अघि बढ्न पनि उहाँले आग्रह गर्नुभयो । प्रतिपक्ष दलले सरकार ढल्ने भनेर गरिरहेको प्रचारमा सत्यता नरहेको उल्लेख गर्नुहुँदै सांसद थापाले सत्तापक्ष दल नेपाली कांग्रेसका केही सांसदहरूले पनि गठबन्धन विरोधी धारणा सार्वजनिक रूपमा राखिरहेको आरोप लगाउनुभयो ।

आफ्नो दलभित्रका असन्तुष्टिलाई देखाएर सरकार कमजोर बनाउनुभन्दा त्यसलाई महाधिवेशनमार्फत सल्टाउनुपर्ने पनि सांसद थापाको भनाइ थियो ।

त्यस्तै, अघिल्लो सरकारले भ्रष्टाचार र तस्करीलाई प्रसय दिएको आरोप पनि उहाँको छ । विक्रम संवत् २००७ देखि हालसम्म निकै कम सरकारले मात्रै तीन वर्षभन्दा बढी सरकार चलाएको र पछिल्लो ७५ वर्षमा कुनै पनि सरकारले पाँच वर्ष पूरा अवधि काम गर्न नपाउनु लज्जाको विषय रहेको सांसद थापाको भनाइ छ । तीनकुने घटनाको जिम्मेवारी राष्ट्रिय प्रजातन्त्र पार्टीले लिनुपर्ने पनि उहाँको भनाइ छ ।

त्यस्तै, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ऊर्जामन्त्रीको प्रस्तावमा हटेको उल्लेख गर्नुहुँदै सांसद थापाले त्यसको दोष प्रधानमन्त्री थोपर्न नहुने बताउनुभयो । यस विषयमा के भएको हो भनेर नेपाली कांग्रेसका सांसदहरूले आफ्ना सभापतिलाई सोध्नुपर्ने पनि सांसद क्षेत्रीले बताउनुभयो ।

प्रतिपक्ष दल माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले अहिलेको सरकारले भ्रष्टाचार र अवैध क्रियाकलापलाई प्रश्रय दिइरहेको आरोप लगाउनुभयो ।

अहिले लोकतान्त्रिक व्यवस्थामाथि सङ्कट आउनु विद्यमानको सरकारको कार्यशैलीको उजप रहेको उहाँले टिप्पणीसमेत गर्नुभयो ।

त्यस्तै, सत्तापक्ष सांसदहरूले आफ्नो कमजोरी र असक्षमता लुकाउन प्रतिपक्षलाई गाली गर्न थालेको धारणा पनि सांसद शाहीको छ ।

शिक्षक आन्दोलन, निजामती कर्मचारी, चिकित्सक, लघुवित्त तथा सहकारी पीडितलगायत आन्दोलनरत पक्षका विषयमा सरकार गम्भीर नरहेको पनि सांसद शाहीको भनाइ छ ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ र रिहाइले मुलुकको न्यायिक क्षेत्र र सुरक्षा क्षेत्रमाथि गम्भीर प्रश्न देखिएको बताउनुभयो । राज्यको कर्णाली क्षेत्रप्रति हेर्ने दृष्टिकोण हेपाहा प्रवृत्तिको रहेको गुनासो पनि उहाँको छ ।

साेमाबारको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुला जिल्लाको खलङ्गा जिल्लामा भारतीय पक्षबाट नेपाली भूभाग मिचेर तटबन्ध निर्माण गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बाढीपछि महाकाली नदीको धार परिवर्तन हुँदा नेपाली भूभाग भारततर्फ पर्न गएको र त्यो भूमिमा अहिले भारतले भौतिक संरचना बनाइरहेको उहाँको भनाइ छ ।

सीमाक्षेत्रमा कुनै संरचना बनाउँदा एक अर्को देशको समन्वय र जानकारी हुन आवश्यक रहेको भए पनि भारतीय पक्षले एकपक्षीय रूपमा तटबन्ध निर्माण गरिरहेको सांसद बडूले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0