काठमाडाैँ । सरकारले युवालाई आर्थिक र सामाजिक रुपान्तरणका प्रमुख वाहकका रूपमा परिचालन गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारकोे आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै युवामा स्वयंसेवी र सदाचारी भावना विकास गर्ने उल्लेख गर्नुभयो ।
राष्ट्रपति पौडेलले भन्नुभयो, “युवाको शारीरिक र मानसिक विकासका लागि नियमित खेलकुद सञ्चालन र राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलकुद प्रतियोगिता आयोजना गरिनेछ । सङ्घ, प्रदेश, स्थानीय तह र खेल सङ्घको सहकार्यमा स्पोट्र्स स्कुल कार्यक्रम सुरु गरिनेछ ।” विद्यालय तहदेखि खेलकुद तालिम, प्रशिक्षक र खेलाडी प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना छ ।
रङ्गशालालगायतका खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था मिलाइने र खेलकुदलाई निजी क्षेत्रका संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमसँग जोडिने सरकारको योजना छ ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई आधुनिकस्तरको क्रिकेट मैदानमा रूपान्तरण गर्ने सरकारको योजना छ ।
सरकारले अन्तरराष्ट्रिय पदक प्राप्त खेलाडी र उनीहरूका सन्ततिलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था मिलाउने भएको छ ।
