सुर्खेत । सङ्घीय र प्रदेश सरकारको अनुदान सहयोगमा कर्णाली प्रदेशमा विपन्न परिवारका घर निर्माणलाई तीव्रता दिइएको छ ।

यहाँका दश जिल्लामा रहेका गरिब परिवारलाई वर्गीकरण गरेर घर निर्माण गर्न अनुदान दिई २०८१ साउनदेखि हालसम्म २४३ वटा घर निर्माण भइसकेका प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताउनुभयो ।

सुवेदीका अनुसार नौ महिनामा सङ्घ सरकारले उपलब्ध गराएको रकमबाट जनता आवास कार्यक्रमबाट दुई सय दुई घर निर्माण भएका छन् ।

सबैभन्दा बढी कालीकोटमा एक सय २९ घर निर्माण गरिएका छन् । यस्तै, सुर्खेतमा ६८ र जाजरकोटमा पाँच वटा घर निर्माण गरिएका छन् ।

प्रदेश सरकारको जनता आवास कार्यक्रमबाट १४ वटा घर निर्माण भएका छन् । सुर्खेतमा सात, डोल्पामा चार, जाजरकोटमा तीन वटा निर्माण गरिएको हुन् ।

नौ महिनामा विपन्नको घर निर्माण कार्यक्रमअनुसार सुर्खेतमा १२, कालीकोटमा आठ, डोल्पामा चार र जाजरकोटमा तीन गरी २७ वटा घर निर्माण गरिएका छन् ।

प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले चालु आर्थिक वर्षको अन्तिमसम्म घर निर्माणको सङ्ख्या बढ्न सक्ने बताउनुभयो ।

घर निर्माण भएपछि यहाँ आर्थिक रूपमा विपन्न र प्राकृतिक प्रकोपबाट घरविहीन नागरिक निकै खुसी भएका बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताउनुभयो ।

जाजरकोटका बाढी पहिरोपीडित, डोल्पाका निम्न वर्गका तथा कालीकोटका आगलागी पीडित र सुर्खेतका बाढीपीडितलाई लक्षित गरी सरकारले घर बनाइदिएको हो ।

जाजरकोटको बारेकोटमा मान्छे र पशु चौपायाका लागि छुट्टाछुट्ट घरगोठ बनाउने उद्देश्यसहित काम भइरहेको अध्यक्ष गिरीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0