वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि ४१ आरोही समूहका तीन सय ८१ जनाले अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार आजसम्म सगरमाथा, आमादब्लम, अन्नपूर्ण–१, मकालुलगायत हिमाल र पिक आरोहणका लागि ८४ महिला र २९७ पुरुषसहित कूल २३१ जनाले अनुमति पाएका हुन् ।
विभागका निर्देशक आरती न्यौपानेका अनुसार सगरमाथा आरोहणका लागिमात्रै १४ आरोही समूहका २७ महिला र १०७ पुरुषसहित जम्मा १३४ जनाले अनुमति पाएका छन् । नेपालसहित ७५ देशका नागरिकले हिमाल आरोहण अनुमति लिएका छन् । जसमध्ये ३० देशका २७ महिला र १०७ पुरुषसहित कूल १३४ जनाले सगरमाथा आरोहण गर्न अनुमति लिएका हुन् ।
यस्तै अन्नपूर्ण–१ मा छ आरोही समूहका ६६, आमादब्लाममा चार ४८ र मकालुमा तीन समूहका ४० जनाले विभागबाट आरोहण अनुमति लिएका छन् । हालसम्म हिमाल आरोहणबाट रु २४ करोड ५२ लाख ७७ हजार पाँच सय ३७ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ ।
