हङ्कङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको छ । जितका लागि पाएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो ।
नेपालका लागि कुशल भूर्तेलले सर्वाधिक ३८ रन बनाए । कप्तान रोहित पौडेलले ३७ रन जोडे । आसिफ शेखले ३३ रनको योगदान दिँदा बसिर अहमदले ३० रन बनाए ।
नेपालले अतिरिक्त मात्रै १६ रन प्राप्त गरेको थियो । कतारका लागि मुजीब–उर–रहमानले दुई विकेट हात पारे ।
त्यसअघि हङकङको टिन क्वाङ रोड रिक्रिएशन रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रन बनाएको थियो । उसका लागि मोहम्मद इक्रामुल्लाहले सर्वाधिक ५४ रनको योगदान दिए । शाहजैब जमीलले ३१, मुजीब–उर–रहमानले २०, मोहम्मद इरशादले १८ र अरुमुगागणेश नागराजनले १३ रन बनाए ।
नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुलसन झा र ललित राजवंशीले समान एक–एक विकेट हात पारेका थिए । नेपालले भोलि कुवेतसँग दोश्रो खेल खेल्नेछ ।
