सुर्खेत । कर्णाली प्रदेशका दश जिल्लाका विद्यालयमा शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुग्ने सम्भावना घटेको छ ।
विक्रेताले जनक शिक्षा सामग्री केन्द्रको प्रदेश कार्यालयबाट किताव समयमै खरिद नगर्दा भर्ना अभियानसँगै विद्यार्थीको हातमा किताव पुग्ने सम्भावना घटेको हो ।
जम्मा २५ हजार सेट किताबमध्ये प्रदेशको गोदाममा १७ हजार किताब थन्किएका छन् । जनक शिक्षाले समयमै किताब छापेर गोदाममा स्टोर गरेपनि किताब लिन बिक्रेता नआउँदा गोदाममै थन्किएको हो ।
निजी क्षेत्रले पुरानो स्टक देखाउँदै कमिसन बढी दिएर किताब बिक्री गर्दा जनक शिक्षामा किताब खरिद गर्न विक्रेता कम आएको आरोप लगाएको छ ।
सरकारले कक्षा १ र ५ जनक शिक्षालाई छाप्न लगाएको थियो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड कर्णाली प्रदेश कार्यालयमा पाठ्यपुस्तक बिक्री सुरु भएपनि गोदाममै थन्क्याउनु परेको केन्द्रले जनाएको छ ।
जिल्लास्थित पुस्तक बिक्रेताले पुस्तक खरिद गर्न नआएका कारण लिमिडेटको गोदाममा पुस्तक थन्किएको प्रदेश प्रमुख भैरवबाबु पन्तले बताउनुभयो । उहाँका अनुसार हालसम्म ६६ प्रतिशत पनि पुस्तक बिक्री भएको छैन ।
स्थानीय तहले बिक्रेतालाई रकम दिएर पुस्तक ढुवानी गर्ने गरेको छ । डोल्पामा फागुनमा शैक्षिकसत्र सुरु हुनेगर्दछ । हालसम्म किताब पुग्न सकेको छैन ।
जनक शिक्षाले पुस्तक विक्रेतालाई जिल्लाअनुसारको कमिसन उपलब्ध गराउँदै आएको छ ।
मुगु, कालिकोट, जुम्ला, दैलेख, जाजरकोट, सुर्खेत र हुम्लाले सुर्खेतबाट पुस्तक खरिद गर्दै आएका छन् ।
