सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १४ स्थित रातानाङ्गलामा फोर्स गाडी दुर्घटना भएको छ । दुर्घटनामा परि दुर्घटनास्थलमा नै चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जिप्रका सुर्खेतका अनुसार ३० जना घाइते भएका हुन् ।
कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी दैलेख बजारबाट सुर्खेतका लागि छुटेको शुक्रबार दिउँसो अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले बताए ।
३० जना घाइतेको उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विश्वकर्माले जनाकारी गराए ।
गाडी सडकभन्दा करिब दुई सय मिटर तल खसेको उनले बताए । साँघुरो घुम्तीका कारण अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रनाउ विश्वकर्माले बर्ता । थप घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, कोहलपुर–सुर्खेत रत्न राजमार्गको देउराली नजिकै शुक्रबार नै फोर्स गाडी दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् ।
जुम्लाबाट नेपालगञ्जतर्फ जाँदै गरेको लु २ ख–५७८५ नम्वरको फोर्स गाडी बाँकेको बैजनाथ गाउँपालिका–१, (१५ खोला मोडमा) टायर पड्किँएर सडकमै पल्टिएर दुर्घटना हुँदा पाँच जना घाईते भएको ईलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।
प्रहरीका अनुसार घाईते हुनेमा बाँकेको कोहलपुर नगरपालिका–११, का गाडी साहु ४२ वर्षिय अलिबहादुर शाही, बर्दिया बासगढी नगरपालिका–१, की ३५ वर्षिया टिका घर्ती, जुम्लाको पतारासी गाउँपालिका–५, की ४४ वर्षिया सुशीला बुढा एवं सोही ठाउँकी ३१ वर्षिया अमकली बुढा र बर्दियाको बासगढी नगरपालिका–३, की २० वर्षिया गिता परियार रहेको ईलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी हवल्दार कुल्पनाकुमारी शाहीले जानकारी दिईन् । उनका अनुसार घाईतेहरुको उद्दार गरी बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ ।