मुगु, २४ असार । एक सातादेखि कर्णाली प्रदेशका पाँच जिल्लामा यातायात सेवा अवरुद्ध भएको छ । लगातारको वर्षा र मौसममा आएको खराबीले सडक र हवाई दुवै सेवा अवरुद्ध भएका हुन् । यहाँका चार विमानस्थलमा उडान हुन सकेको छैन भने कर्णाली राजमार्ग र कर्णाली करिडोर बाढीपहिराले अवरुद्ध हुँदा सवारी साधन गुड्न सकेका छैनन् ।

छायाँनाथ रारा नगरपालिका–११ का नौलासिंग नेपाली अत्यावश्यक कामले सुर्खेत जानुपर्ने भए पनि गाडी र विमानस्थल दुवै नचल्दा रोकिएको बताउनुहुन्छ । यही असार २२ गते शिक्षक सेवा आयोगको परीक्षा दिन जाने तयारीमा रहनु भएका छायाँनाथ रारा नगरपालिका–१० तल्लेखका स्थानीय मोहन शाहीको परीक्षा छुट्यो । उहाँ जस्ता धेरैको परीक्षा छुटेको छ ।

परीक्षा मात्र होइन यातायातका साधन नचल्दा उपचार गर्न जाने बिरामी र प्रदेश तथा सङ्घीय राजधानी जाने कर्मचारी जिल्लामै रोकिनुपरेको छ । दैनिक उपभोग्य र निर्माण सामग्री बोकेका गाडी बीच बाटोमै रोकिएको मुगु उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमलबहादुर बुढा बताउनुभयो ।

सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर वीरबहादुर जिटिका अनुसार कर्णाली राजमार्गको कालीकोट खण्डमा खोला, एसमोड, झाम्ला खोला, दही खोला, हुल्म र दैलेखको पातरखोलालगायत १२ स्थानमा पहिरा, बाढी र लेदो आउँदा सडक अवरुद्ध छ । अवरुद्ध भएको स्थानमा सडक डिभिजन कार्यालय जुम्लाले अवरोध पन्छाउन स्काभेटर प्रयोग गरिरहेको जनाएको छ ।

सडक मात्र अवरुद्ध नभइ मौसम सुधार हुननसक्दा हवाई सेवा पनि ठप्प भएको हो । मौसम सुधार नभएकै कारण मुगुको रारा, हुम्लाको सिमिकोट, जुम्लाको जुम्ला र डोल्पाको जुफाल विमानस्थलमा एक सातादेखि जहाजले उडान भर्न नसकेको नागरिक उड्डयन कार्यालय ताल्च मुगुका प्रमुख श्री कृष्ण रिजालले जानकारी दिनुभयो ।

रिजालका अनुसार उडान बन्द भएपछि यात्रु विमानस्थलमै रोकिएका छन् । उपचारका लागि छिटो सहर पुग्नुपर्ने बिरामीहरु सबैभन्दा बढी मारमा परेको स्थानीय कुशलराज मल्लले बताउनुभयो ।

लगातारको वर्षाले गाउँगाउँबाट पालिका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने ग्रामीण सडकसमेत् अवरुद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0